Mar 21, 2012

अनागरिक नेपाली, ‘सीमापारि’का नागरिक


पर्शुराम काफ्ले

सन् १९७० ताका एउटा आमसभालाई सम्बोधन गर्नेक्रममा भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले भनेकी थिइन् नेपालको तराईमा बस्ने जनता भारतीय मूलका हुन् र तिनीहरु कुल नेपाली जनसंख्याको ४० प्रतिशत छन् । यदि आवश्यक प¥यो भने सबै ४० प्रतिशतको संख्यामा रहेका भारतीय मूलका जनतालाई भारत सरकारले परिचालन गर्नुपर्ने स्थिति आउने छ ।गान्धीले नेपालकै सन्दर्भमा यतिसम्म भनेकी थिइन् नेपाललाई हामी बन्दुकको गोलीबाट होइन, मतपत्रबाट लिनेछौँ ।

स्वर्गीय इन्दिरा गान्धीले त्यतिबेला जे बोलिन्, त्यो यतिबेला कामयाबी मात्र छैन, उनका तत्कालीन अभिव्यक्तिमाथि टिप्पणि गर्नु नै असान्दर्भिक छ । यद्यपि, नेपालको सार्वभौमसत्ता र अखण्डताको मामिलामा भारतीय पूर्व प्रधानमन्त्रीको बक्रदृष्टिको यो नमूना चाहिँ चाहेर पनि बिर्सिन सकिँदैन । उनका अभिव्यक्तिहरुको कुनै न कुनै परावर्तन भारतीय विदेश नीतिका निर्माता वा परिमार्जनकर्ताहरुमा अहिले पनि हुनसक्छ । 

हिमाली अधिराज्य सिक्कीम, भुटान र नेपाललाई ढिलो वा चाँडो भारतीय सीमानाभित्र गाभ्ने गान्धीको तत्कालीन इच्छा अनुसार स्वतन्त्र मुलुक सिक्कीम नाटकीयरुपमा भारतमा बिलय गराइएको झण्डै चालिस बर्ष पुग्न लागेको छ । संयुक्त राष्ट्रसंघको सदस्य रहेको भुटानको अस्तित्व प्राविधिकरुपमा मात्रै स्वतन्त्र मुलुकजस्तो छ भने नेपालमा पनि भारतीय प्रभाव राजनीतिक बृत्तमा चाहिँ निर्णायकस्तरमा हावी छ । खुल्ला सीमाना र समान सभ्यताको कारण सांस्कृतिक हिसाबले पनि नेपाली जनस्तरमा भारतीय प्रभाव अत्यधिक छ । तर, नेपालको रोचक विशेषता के छ भने तराईको एउटा तप्काबाहेक नेपाली जनमत चाहिँ भारत विरोधी (एन्टि इन्डियन)छ । भारत परस्त राजनीतिक वृत्त वा भारत विरोधी जनमत दुबै स्थायी हुन सक्दैनन् र यसले नेपालभारत दुबैको हितलाई फाइदा गर्दैन । यद्यपि यो नाटकीय विरोधाभासका पछाडि अनेकौँ आयाम छन् तर यसका लागि नेपाली जनमतको दृष्टिबाट हेर्दा भारतीय पक्ष  बढी जिम्मेबार छ । त्यसबारे यहाँ विस्तृतमा चर्चा गर्न खोजिएको होइन । तर, तराईमा नेपाली नागरिकता बितरणले विगतदेखि पारेका नकारात्मक प्रभाव र नागरिकताकै बिषयमा सत्तारुढ गठबन्धनले गरेको पछिल्लो सहमतिका सन्दर्भमा मात्रै उपरोक्त पृष्ठभूमि प्रस्तुत गरिएको हो ।

तराई÷मधेशलाई आधार बनाएर राजनीति गर्नेहरुले विगतदेखि केन्द्रिय राजनीतिमा नागरिकता बितरणलाई आफ्नो बार्गेनिङ कार्डका रुपमा प्रयोग गर्दै आएका छन् । तराईकेन्द्रित राजनीतिक समूहहरुको सदाबहार तर्क के छ, भने तराईका बासिन्दा नागरिकताबाट बञ्चित छन्, उनीहरुलाई नागरिकता बितरण खुकुलो बनाइनुपर्छ । २०६२÷०६३को जनआन्दोलनपछि एकपटक पौने दुई लाख व्यक्तिलाई नेपालमा जन्मेको आधाराम नागरिकता वितरण गरियो । र वितरणकर्ताहरु थिएमाओवादी, कांग्रेस, एमाले र सद्भावना पार्टी । बास्तबमा त्यतिबेलासम्म मधेशवादी दलको बेग्लै अस्तित्व नेपाली धर्तीमा विजारोपण भइसकेको थिएन, तराईका मुद्दा उठाउनेहरु राष्ट्रिय दलकै रुपमा थिए । तर, नेपालमा तोरीको गुन्द्रुकको मोलमा नागरिकता बितरण भइरहँदा मधेशवादनामक साम्प्रदायिक एजेन्डाको भ्रुण छिमेकको आशिर्वादमा बिहार÷युपीतिर हुर्किइरहेको थियो ।

संसारमा नागरिकता बितरण गर्ने प्रचलन चलेको पहिलो मुलुक नै नेपाल हुनसक्छ किनभने कुपन जसरी नागरिकता वितरणको प्रचलन अरु मुलुकमा छैन । नेपालमा जन्मेका आधारमा नेपाली नागरिकता कार्डमार्फत जजसलाई नेपाली बनाइयो, उनका सन्तति र आफन्तहरुको भीड तराईका जिल्ला प्रशासन कार्यालयहरुमा धेरै अघि देखि लाग्दै आएको थियो । तीन महिना अघि गृह मन्त्रालयका एक उच्च अधिकारीले पंक्तिकारसँग भनेका थिएजन्मका आधारमा नागरिकता बाँडियो, अहिले उनका छोराछोरीलाई नागरिकता दिनुप¥यो भनेर तराईका दलले सिडीओ सापहरुलाई दबाब दिन थालेका छन् । उनीहरुलाई के का आधारमा नागरिकता दिने भन्ने कुनै कानून पनि छैन, सरकारी निर्णय पनि छैन ।

जिल्ला प्रशासन कार्यालयमा देखा परेको भीडका आधारमा गृहमन्त्री विजय गच्छदारले सनकका भरमा जन्मका आधारमा नागरिकता पाउने व्यक्तिका सन्ततिलाई बंशजका आधारमा नागरिकता दिन प्रमुख जिल्ला अधिकारीहरुलाई फर्मान जारी गरे । बास्तबमा यो माओवादी नेता मोहन बैद्यको शब्दमा भन्दा राष्ट्रघात थियो । तर, प्रमुख जिल्ला अधिकारीहरुले गच्छदारको राष्ट्रघातलाई साथ दिएनन् । आदेश नमानेर झापाका सिडीओ गेहनाथ भण्डारीले सरुवाको सजाय भोगे, अरु सिडीओ सापहरु पनि सजाय भोग्न तयार भए । मूलधारका नेपाली दैनिक पत्रपत्रिकामा आएका समाचारमार्फत् भयोजन्मका आधारमा नेपाली नागरिकता पाउनेहरुको लिस्टमा भारतका मोस्ट वान्टेड अपराधीदेखि भारतकै पृथकतावादी गतिविधिमा संलग्न व्यक्तिहरु छन् ।

यद्यपि, नेपाली नागरिकताको कार्ड भिराएर मधेशी दलको भोट बैँक बनेका सबै जनता अपराधकर्ममा सामेल छन् भनेर आरोप लगाउन खोजिएको होइन । विदेशीलाई नागरिकता दिएर तराईका आदिवासी नेपालीलाई अल्पमतमा पार्ने यस्ता दुस्प्रयास तत्कालका लागि फाइदाजनक देखिए पनि स्वयम् मधेश केन्द्रित भनिएका दलहरुलाई भविश्यमा अभिषाप बन्नेछ । यस सन्दर्भमा, अर्को महत्वपूर्ण बिषयलाई पनि नजरअन्दाज गर्न मिल्दैन कि अहिलेसम नेपालीलाई अल्पमतमा पार्नेगरि नागरिकता वितरण गर्ने अपराधका लागि मधेशवादी भनिनेहरु हैनन्, आफूलाई देशभक्त, क्रान्तिकारी र प्रजातन्त्रवादी भनिने दलका शीर्ष नेता बढी जिम्मेबार छन् । मधेश केन्द्रित दलहरुले त राष्ट्रिय दल र तिनका नेताले गरेका त्यही अपराध फरक सन्दर्भमा दोहो¥याउन मात्र खोजेका हुन् ।

नेपालको अस्वभाविक नागरिकता वितरणसम्बन्धि हरेक निर्णयमा भारतीय नागरिक जोडिएका छन् । तथ्यहरुले स्पष्ट गर्दै आएको छ कि नेपालमा बसाईँसराई गर्नेहरुमध्ये तीनतिर खुल्ला सिमाना रहेको भारतका नागरिक नै अत्यधिक छन । भारतीय विदेश मन्त्रालयकै पुरानो तथ्यांक अनुसार विश्वका १०५ मुलुकमा रहेका एक करोड १२ लाख भारतीय मध्ये ३३ प्रतिशत नागरिक नेपालमा छन् । र, नेपालमा रहेकामध्ये ६२ प्रतिशतले नागरिकता लिइसकेका छन् । भारतीय विदेश मन्त्रालयकै अर्कोे पुरानो तथ्यांक अनुसार सन् १९८० सम्म नेपालमा बसोबास गर्ने ३० लाख भारतीय मध्ये २३ लाख ८७ हजार ९७३ जनाले नागरिकता लिइसकेका थिए । ३२ बर्ष यताको एकीकृत तथ्यांक आइसकेको छैन, तर यो नेपाली राष्ट्रियताका निम्ति भविश्यको डरलाग्दो खतरा हो ।

 भारतीय अप्रबासनका बिषयमा स्वर्गीय हर्क गुरुङको टोलीले गरेको अनुसन्धान अनुसार तराईमा भारतीय आप्रबासीहरुको संख्या सन् १९६१ मा ३ लाख आठ हजार ५८३ थियो । सन् १९७१ मा साच हजार ४४० जना घटेर तीन लाख एक हजार १४३ जना पुगेका थिए । त्यही बर्षको जनगणना अनुसार तराईका आप्रबासीमध्ये ९७ प्रतिशत जति भारतमै जन्मेका थिए । सन् १९६७६८मा तराईका पाँच जिल्लाका ९९ गाउँमा गुरुङ्हरुकै टोलीले गरेको सर्भेक्षण अनुसार ती जिल्लामा बसाई आउनेमध्ये ६० प्रतिशत भारतीय थिए ।

विसं १९६८को पहिलो जनगणनामा नेपालको कुल जनसंख्या ५५ लाख ७३ हजार ७८८ थियो भने दश बर्षपछि भएको जनगणनामा जनसंख्या दुई लाखले घटेको थियो । विसं १९९८को चौथो जनगणनामा जनसंख्या १० लाख ७५ हजार घटेको थियो । २०१८, २०२८सालको जनगणना अनुसार कुल जनसंख्या क्रमशः ८५ लाख १५ हजार र १ करोड १५ लाख थियो । तर, तीस बर्षपछि २०५८ सालको जनगणना अनुसार नेपालको जनसंख्या दोब्बर भन्दा पनि बढी भयो । जानकारहरुका अनुसार यो अस्वभाविक बृद्धि हो ।

छिमेकी भारतकै कुरा गर्ने हो भने उसले सन् १९६१ ३१ मार्चलाई आधार मानेर त्यतिबेलासम्म जन्मेकाहरुलाई नागरिकता दिएको छ, त्यसपछि जन्मेकालाई दिएको छैन । पश्चिम बंगालमा आप्रबासनको समस्या देखिएको भए पनि त्यहाँका नेपालीभाषीलाई अल्पमतमा पार्ने हुनाले त्यहाँ बंगलादेशी नागरिकको बढ्दो आगमनलाई अस्वभाविकरुपमा लिइएको छैन । तर, नेपालले १८ डिसेम्बर १९६२लाई मात्र हैन, २०४६ साल चैत्र मसान्तलाई आधार बर्ष मानेर नागरिकता दिएको छ । अहिले उत्पन्न समस्या यही गैरजिम्मेबारपनको उपज हो । यसको अनुसन्धान अपरिहार्य छ । 

सर्वोच्च अदालतले समेत नागरिकता नदिन सरकारका नाममा आदेश जारी गरिसकेको छ । तर, सर्बोच्चको आदेश बिपरित नागरिकता ऐनमा संशोधन गरेर जन्मका आधारमा नागरिकता पाउने व्यक्तिका सन्तानलाई बंशजका आधारमा नागरिकता दिन मधेशवादीहरु हावी भएको वर्तमान गठबन्धन सरकार सहमत भएको सार्वजनिक भएको छ । तराईमा मात्र नभएर नागरिकताको महत्वबोध नबुझेका पिछडिएका नेपाली नागरिकले नागरिकता पाउने हक रँख्छन् र तिनको कार्यान्वयन अपरिहार्य छ । तर, वर्तमान कानूनी व्यवस्था त्यसका लागि पर्याप्त छ । तर, नागरिकता राजनीतिक आग्रहका आधारमा वितरण गर्ने अबधारणाको चौतफी विरोध जरुरी छ । २६ फागुनमा विज्ञप्ति मार्फत् नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले सरकारी निर्णयको विरोध गरेका छन्, तर यस मामिलामा अरु दलहरुको संस्थागत धारणा आएको छैन । भलै, छटपुटरुपमा मात्रै केही नेताको प्रतिक्रिया सार्वजनिक त भएका छन् छ । त्यस्ता प्रतिक्रिया र विरोधका स्वर अहिले मात्र हैन, विगतदेखि नै निस्प्रभावी बन्दै आएका छन् ।

Courtesy:  हिमालय टाइम्स दैनिक , ३ चैत्र, २०६८

No comments:

Post a Comment