नेपालको आन्तरिक राजनीति अन्यौलग्रस्त छ । 'शान्ति प्रक्रिया' का बाहकहरु आपसी खिँचातानीमा व्यस्त छन् । मुलुकले भावी दिनमा कुन दिशा लिने हो भन्ने अन्यौल आम नागरिकमा बढ्दो छ । आन्तरिक राजनीतिको यो अस्तव्यस्तताकै सन्दर्भमा विदेशीको चलखेल नेपालमा खतरनाक ढंगले बढ्ने क्रममा छ भन्ने चासो विज्ञहरुवाट आइराखेको छ ।
भौगोलिक, आर्थिक, सामरिक लगायत हरेक दृष्टिले शक्तिशाली दुई छिमेकी, चीन र भारतको बीचमा अवस्थित नेपालमा यी दुबै राष्ट्रको आ–आफ्नै स्वार्थ छन् । यी बाहेक, बाहिरका शक्तिहरुको पनि स्वार्थ यस क्षेत्रमा बढ्दै गएको अहिलेको स्थितिमा बेइजिङ्ग सतर्क हुनु स्वभाविक हो ।
नेपाली भूमिमा चीन, भारत, अमेरिका सबैको आ–आफ्नै स्वार्थ तथा लक्ष्य छन् । विश्व महाशक्तिको स्वार्थ एउटा छ भने हाम्रा छिमेकीहरुका स्वार्थ पनि एक अर्कासंग बाझिने खालका छन् । अन्तर्राष्ट्रिय शक्ति समीकरणमा प्रभूत्व राख्ने र एशियाको शक्ति प्रतिस्पर्धामा प्रभाव पार्न सक्नेहरुले नेपालको रणनीतिक अवस्थितिको फाइदा उठाउने प्रयाश गर्नु अस्वभाविक होइन । कतिपय अवस्थामा यी शक्तिहरुका उद्देश्य तथा रणनीति परस्पर विरोधी हुने गरेका छन्, किनभने यिनीहरुको लक्ष्य नै विपरित ध्रुवीय छन् ।
नेपालमा चिनियाँ चासो
चीनले नेपालमा चलिरहेको राजनीतिक संक्रमण, सत्ता संघर्ष, भावी दिनका संभावना तथा दिशालाई कसरी हेरिराखेको छ ? यसका साथै, वर्तमान दक्षिण एशियाली परिदृश्यलाई चीनले कसरी विश्लेषण गरेको छ र आफ्नो भूमिका कसरी निर्धारण गर्दैछ ? बेइजिङ्गले आफ्नो स्थिति कहाँ र कस्तो अवस्थामा पाउँदैछ ? यी प्रश्नको जवाफ पाउन नेपाली भूमिमा चीनको के–कस्तो स्वार्थ जोडिएको छ भनेर हेर्नु आवश्यक छ । यसरी विश्लेषण गरिएको खण्डमा मात्र नेपालमा चीनको बढ्दो चासोलाई बुझ्न सकिन्छ ।
अहिले नेपाल प्रति चीनको चासो धेरै बढेको देखिनुमा नेपाल राष्ट्रको भौगोलिक अवस्थिति एउटा कारण हो । यसका साथै, विगत् केही वर्ष यता दक्षिण एशिया र यस वरपरका क्षेत्रमा विकसित रणनीतिक परिदृष्यले पनि चीनलाई हिमाल पारी दक्षिण तर्फ बढी सचेत हुँदै प्रभावकारी कदम चाल्न बाध्य पारेको हो ।
अन्तर्राष्ट्रिय शक्ति समीकरणमा चीनको बढ्दो प्रभाव, एशिया, खासगरी दक्षिण एशिया र दक्षिण पूर्व एशियामा चीनको बढ्दो उपस्थिति, चीन विरुद्ध आउने दबाव र बेइजिङ्गको प्रभाव विस्तार गर्ने रणनीतिको परिणाम हो, नेपाल प्रति चीनको बढ्दो चासो र सतर्कता ।
नेपालमा चीनको चासो, उसले आफ्नो हित अनुकूल यहाँ चाहेको वातावरण र उसले भावी दिनमा चाल्न सक्ने कदमलाई दुई मुख्य आधारमा विश्लेषण गरिनु उपयुक्त हुन्छ । पहिलो आधार भनेको चीनको आत्मरक्षाको प्रश्न हो । चीनको राष्ट्रिय अखण्डता अक्षुण राख्दै आफ्नो रणनीतिक स्थितिलाई अझ सुदृढ पार्दै लाने बेइजिङ्गको पहिलो प्राथमिकता हो, यसबेला । एकहद सम्म एशियाको महाशक्तिका रुपमा स्थापित भैसकेको चीनलाई अव अन्तर्राष्ट्रिय शक्ति सँघर्षको मैदानमा आफ्नो प्रभाव शक्तिशाली ढँगले बढाउँदै लाने बेइजिङ्गको चाहना दोश्रो आधार हो ।
विगत् केही समय यता, खासगरी तीन–चार वर्ष यताका दिनहरुमा, चीनले नेपालमा देखिने गरी आफ्नो चासो व्यक्त गरिराखेको छ । 'नेपालको सार्वभौमसत्ता रक्षाका लागि चीनले हरेक प्रकारको सहयोग गर्नेछ' । गत वर्ष नेपाल भ्रमणमा आएका बेला चिनियाँ विदेश मन्त्रीले औपचारिक कार्यक्रमहरुमा यस्तै भनेका थिए । 'नेपालको विकासको लागि जस्तो सुकै मद्दत गर्न चीन सदा तत्पर छ' जस्ता औपचारिक धारणा त चीनवाट बेलाबखत आइरहन्छन् ।
अन्तर्राष्ट्रिय शक्ति समीकरणमा चीन अहिले सम्भाव्य महाशक्तिको रुपमा माथि उठ्दैछ । पश्चिमाहरुले 'सुतेको बाघ' भन्ने गरेको चीनको शक्ति बिस्तारलाई रोक्नु र उसलाई कमजोर पार्नु विश्वको एक मात्र महाशक्तिका लागि अनिवार्य छ, आफ्नो विश्वव्यापी प्रभूत्व कायम गर्दै अझ व्यापक बनाउन ।
धार्मिक नेताको आवरणमा दलाई लामा मार्फत चीनको अभिन्न अङ्ग तिब्बतमा उथल पुथल मच्चाउने र यसका लागि नेपाली भूमि समेत प्रयोग गर्ने रणनीति व्यापक पारिएको छ । खम्पा विद्रोह पछि पहिलो पटक नेपालमा फ्रि तिब्बतको नारा–जुलुस र 'सँघर्ष' तीव्र पारिएको छ, विगत् केही समय यता ।
नेपालसँगको एक हजार किलोमिटर सीमा क्षेत्रबाट तिब्बत यस अघि जस्तो अब सुरक्षित रहेन भन्ने बेइजिङ्गको विश्लेषण देखिन्छ । 'नेपाल–तिब्बत सीमामा हाम्रो सेनाको सँख्या र क्षमता वृद्धि गरिँदैछ' भन्ने जनाउ बेइजिङ्गबाट केही समय अघि नै आइसकेको छ ।
अन्यत्रको भन्दा चीनको नेपालसँगको सीमा तुलनात्मक रुपमा तिब्बत विरुद्ध प्रयोग गर्न सहज छ, भौगोलिकका साथै कूटनीतिक तथा राजनीतिक हिसाबले । नेपाल एउटा स्वतन्त्र, अखण्ड राष्ट्र रहिरहेको खण्डमा तथा नेपालमा सशक्त शासन प्रणाली रह्यो भने नेपाली सीमाका तर्फबाट चीनलाई सुरक्षाको चिन्ता कम हुन्छ भन्ने कुरा विगत्ले स्पष्ट पारेको छ । नेपालको स्थिति सिक्किम वा भुटानको जस्तो हुन पुगेको अबस्थामा चीनलाई गाह्रो हुनेछ । त्यसैले नेपाल अखण्ड राष्ट्रका रुपमा कायम रहनु र माठमाडौँमा सशक्त (assertive) शासक रहनु चीनका लागि सकारात्मक हुन्छ । अहिलेको जस्तो अन्योलपूर्ण, अराजक तथा भद्रगोल अवस्था लामो समय रहनु चीनका लागि चिन्ताको विषय हो । सिक्किम भारतमा विलय गरिएको कदमलाई चीनले साढे तीन दशक सम्म पनि औपचारिक रुपमा मान्यता नदिनु र 'मान्यता दिइने पनि छैन' भनेर बेइजिङ्गबाट सूचित गरिएको सन्दर्भ यहाँ स्मरण गर्नु उपयुक्त हुन्छ ।
विगत् ३–४ वर्ष यता नेपालमा बढ्दो राजनीतिक अस्थिरताका कारण नेपालमा चीन प्रतिकूल वातावरण बन्ने चिन्ता बेइजिङ्गलाई छ । मौन रहेर काम गर्ने चीन यतिबेला खुला रुपमा आउनु भनेको 'अब अति भयो' भन्ने सन्देशका रुपमा बुझ्नु उपयुक्त हुन्छ । 'नेपालको सार्वभौमसत्ता रक्षाका लागि चीनले सहयोग गर्नेछ' भन्ने अभिव्यक्तिलाई सन् १९६२ मा चीनका विदेशमन्त्री मार्सल चेन यीले दिएको चेतावनीसँग जोडेर हेर्नु सान्दर्भिक हुन्छ ।
चीनको पूर्व, दक्षिण र पश्चिम दिशामा भैराखेको विकासलाई पनि हेर्नु आवश्यक छ । ताइवानको सैन्य सुदृढीकरण, भारतीय शासकहरुले दलाई लामालाई दिँदै लगेको बढी छुट, अफगानिस्तानमा बढ्दो अमेरिकी सैनिक उपस्थिति, किर्गिस्तान लगायत केही पूर्वसोभियत गणराज्यमा भैराखेको चीन लक्षित अप्रत्यक्ष गतिविधि, तिब्बतका साथै पश्चिमी चीनको मुस्लिम बाहुल्य क्षेत्रमा फाट्टफुट्ट देखिन थालेको गडबडी जस्ता विकासक्रमले चीनलाई चिन्तित र उत्तेजित पार्दैछ । त्यसैले नेपाल बाहेक अन्यत्रका सन्दर्भमा चीनको रणनीति फरक ढंगले जाने देखिन्छ । दक्षिण एशिया र हिन्द महासागर क्षेत्रमा चीनले हालका महिनामा बढाउँदै लगेको सक्रिय उपस्थितिलाई यसै सन्दर्भमा हेरिनु पर्छ ।
प्रभाव बिस्तारको रणनीति
अन्तर्राष्ट्रिय शक्ति समीकरणमा प्रभावशाली शक्तिका रुपमा उदय हुँदै गरेको चीन अव प्रतिरक्षात्मक मात्र होइन आक्रामक रुपमा आफ्नो प्रभूत्व पनि फैलाउन खोज्दैछ । भारतले अमेरिकासँग आणविक सम्झौता गरे लगत्तै चीनले पाकिस्तानसँग गरेको सामरिक सम्झौतालाई कम महत्व दिइनु हुँदैन । यो सम्झौताको असर आगामी दिनमा दक्षिण एशियामा देखिनेछ । शीत युद्धकालीन दुई ध्रुवीय शक्ति समीकरण फेरिइसकेको छ भन्ने सम्झना गर्नु आवश्यक छ, पाकिस्तान–अफगानिस्तान–भारतको सन्दर्भमा चीनको रणनीतिका दृष्टिले ।
स्वतन्त्र राष्ट्र सिक्किमलाई भारतमा विलय गरेको कदमलाई हामी मान्यता दिँदैनौ भन्ने चीनको पछिल्लो जनाउसँगै श्रीलंका, बंगलादेश र म्यानमारको सत्ता तुलनात्मक रुपमा वर्तमान नेपाली शासन भन्दा बढी सशक्त देखिनु संयोग मात्र होइन ।
दक्षिण एशिया र विश्व सन्दर्भको समीकरण र त्यसमा संलग्न शक्तिहरुको प्रतिस्पर्धा जटिल बन्दै जाने निश्चित छ, निकट भविष्यमा । त्यसैले आउँदा दिनहरु चीन केन्द्रित हुने र नेपालले वडो अप्ठ्यारो, तर गम्भीर अवस्थाको सामना गर्नुपर्ने हुन सक्छ ।
deepakgajurel@gmail.com
No comments:
Post a Comment