दीपक गजुरेल
'नेपाली भूमिमा चीन विरोधी गतिविधि भैराखेको छ र क-कसले चीनको राष्ट्रिय स्वार्थ विरुद्ध यहाँ काम गरिरहेका छन् भन्ने एक-एक विवरण हामीसँग छ । यहाँ बाहिरी शक्तिले चीन विरोधी कामहरु गराइराखेको पनि हाम्रो जानकारीमा छ ।' नेपालका लागि चिनियाँ राजदूतले हालै एउटा औपचारिक कार्यक्रममा बोल्दै नेपाल शक्ति रष्ट्रहरुको छद्म भीडन्तको अखडा बनेको स्पष्ट सन्देश दिए ।
केही समयअघि नेपाल भ्रमणमा आएका चिनियाँ कम्यूनिष्ट पार्टीका प्रभावशाली एक नेताले चिनियाँ राजदूतले भनेकै कुरा फरक शब्दमा बोलेका थिए । 'स्वतन्त्र तिब्बत' सम्बन्धी गतिविधि केही वर्षयता नेपालमा तीव्र गतिमा बढाइएको छ । चीनको सिमानासम्म पुगेर चीन विरुद्ध नारा लगाउने अवसर 'गणतान्त्रिक' नेपालका शासकहरुले दिइराखेका छन् । भन्ने बेलामा 'एक चीन नीतिप्रति हामी प्रतिवद्ध छौँ' भनिन्छ, तर व्यवहारमा स्थिति ठीक उल्टो छ । काठमाण्डौँस्थित चिनियाँ राजदूतावास र अन्य चिनियाँ निकाय अगाडि बाह्रै महिना, चौबिसै घण्टा सुरक्षाकर्मी तैनाथ गर्नुपरेको केही वर्षयता हो । यसले पनि नेपालमा दलाई लामाका मान्छेहरुलाई (तिब्बती र अन्य विदेशी मात्र होइन, भाडामा काम गर्ने नेपालीसमेत) चीन विरुद्ध काम गर्न कति सहज अवसर उपलब्ध गराइएको छ भन्ने प्रष्ट हुन्छ । 'पुरानो नेपाल' मा यसअघि कहिल्यै नभएका दृश्य-अदृश्य यी लगायत चीन विरोधी काम किन भैराखेका छन् भनेर बेइजिङ्गले बुझेको छैन भन्न मिल्दैन ।
नेपाल बाहेक, पसिफिक लगायत अन्य क्षेत्रमा समेत चीनलक्षित गतिविधि व्यापक भैराखेको बेला चिनियाँ नेता तथा पदाधिकारीहरुको नेपाल भ्रमण बाक्लिँदै गएको छ । अन्य क्षेत्रसँगै तिब्बत चीनका लागि अत्यन्तै सम्वदेनशील र चुनौतिपूर्ण अवस्थामा रहेको कुरा बेइजिङ्गका शासकहरुले बुझेका छन् । त्यसैले हिमालय दक्षिणबाट तिब्बतमा कुनै खतरा नहोस् भन्ने कुरामा चिनियाँहरु सचेत छन् ।
नेपालको आन्तरिक राजनीति अत्यन्तै जटिल र अन्यौलपूर्ण रहेको अहिलेको अबस्थामा चीनको तर्फवाट झन् भन्दा झन् कठोर धारणा आइराखेका छन्, नेपाल र तिब्बतका विषयलाई लिएर । आधा दशक अघि नरहेको यस्तो स्थिति किन अहिले आयो ? चीनले नेपालमा चलिरहेको सत्ता सँघर्ष र वर्तमान दक्षिण एशियाली शक्ति समीकरणलाई कसरी हेरिराखेको छ ? र नेपालको सार्वभौमसत्तासँग चीनको के-कस्तो स्वार्थ जोडिएको छ भनेर हेर्नु जरुरी छ, चीनको बढ्दो चासोलाई बुझ्न ।
यसबेला नेपालप्रति चीनको चासो अलि धेरै बढ्नुमा नेपाल राष्ट्रको भौगोलिक अवस्थिति एउटा कारण हो । यसका साथै, विगत् केही वर्षयता दक्षिण एशिया र वरपरका क्षेत्रमा विकसित रणनीतिक परिदृष्यले पनि चीनलाई हिमालपारी बढी सचेत हुँदै प्रभावकारी कदम चाल्न बाध्य पारेको हो ।
अन्तर्राष्ट्रिय शक्ति समीकरणमा चीनको बढ्दो प्रभाव, एशिया, खासगरी दक्षिण एशिया, दक्षिण पूर्व तथा सुदूर पूर्वी एशियामा चीनको शक्तिशाली उपस्थिति, चीन विरुद्ध हुन सक्ने सम्भाव्य नकारात्मक दबाव र बेइजिङ्गको प्रभाव विस्तार गर्ने रणनीतिको परिणाम हो यतिबेला नेपालप्रति चीनको बढ्दो चासो र सतर्कता ।
नेपालमा चीनको स्वार्थ, उसले चाहेको वातावरण र उसले भावी दिनमा चाल्न सक्ने कदमलाई दुई मुख्य आधारमा विश्लेषण गरिनु पर्छ । पहिलो, आत्मरक्षा: चीनको अखण्डता अक्षुण राख्दै आफ्नो रणनीतिक स्थितिलाई अझ सुदृढ पार्दै लाने, र दोश्रो, एशियाका साथै सिँगो विश्व शक्ति सँघर्षको रणभूमिमा आफ्नो प्रभाव शक्तिशाली ढँगले बढाउँदै लाने ।
आत्मरक्षाको चिनियाँ स्वार्थ
अन्तर्राष्ट्रिय शक्ति समीकरणमा चीन अहिले सम्भाव्य महाशक्तिको रुपमा माथि उठ्दैछ । पश्चिमाहरुले 'सुतेको बाघ' भन्ने गरेको चीनको शक्ति बिस्तार रोक्नु र उसलाई कमजोर पार्नु विश्वको एक मात्र महाशक्तिका लागि अनिवार्य छ, आफ्नो विश्वव्यापी प्रभूत्व कायम राख्दै अझ व्यापक पार्न ।
दलाई लामालाई उचालेर तिब्बतमा उथल-पुथल मच्चाउने र यसका लागि नेपाली भूमि समेत प्रयोग गर्ने रणनीति व्यापक पारिएको छ । सन् १९७० को दशकको मध्यतिरको खम्पा विद्रोहपछि पहिलो पटक काठमाडौँका सडकमा फ्री तिब्बतको नारा-जुलुस र 'सँघर्ष' तीव्र पारिएको छ । भिक्षुका भेषमा चीन विरोधी 'छापामार' हरुलाई तालिम दिएर नेपाली भूमिहुँदै तिब्बत छिराइँदैछ भन्ने केही नेपाली अखबारको दाबीलाई ठाडै अस्वीकार गर्न सकिने अबस्था छैन । नेपालसँगको एक हजार किलोमिटर सीमा क्षेत्रबाट चीनको अभिन्न अङ्ग तिब्बत यस अघि जस्तो अब सुरक्षित रहेन भन्ने बेइजिङ्गको विश्लेषण देखिन्छ । 'नेपाल-तिब्बत सीमामा हाम्रो सेनाको सँख्या र क्षमता वृद्धि गरिँदैछ' भन्ने जनाउ बेइजिङ्गबाट आइसकेको छ । र चीनले तिब्बतमा आफ्नो सुरक्षा स्थिति मजबुत बनाउँदै लगेको यथार्थ चीन बाहिरकाहरुले पनि भनिराखेका छन् ।
अरुतिरको भन्दा चीनको नेपालसँगको सीमा तुलनात्मक रुपमा तिब्बत विरुद्ध प्रयोग गर्न सहज छ, भौगोलिकका साथै कूटनीतिक तथा राजनीतिक हिसाबले । नेपाल एउटा स्वतन्त्र, अखण्ड राष्ट्र रहिरहेको खण्डमा तथा नेपालमा सशक्त शासन प्रणाली रह्यो भने नेपाली सीमाका तर्फबाट चीनलाई सुरक्षाको चिन्ता कम हुन्छ भन्ने कुरा विगत्ले स्पष्ट पारेको छ । नेपालको स्थिति सिक्किम वा भुटानको जस्तो हुन पुगेको अबस्थामा चीनलाई गाह्रो हुनेछ । त्यसैले नेपाल अखण्ड राष्ट्रका रुपमा रहनु र माठमाडौँमा सशक्त (assertive) शासक रहनु चीनका लागि आवश्यक छ । अहिलेको जस्तो अन्योलपूर्ण, अराजक तथा भद्रगोल अबस्था लामो समय रहनु चीनका लागि चिन्ताको विषय हो । सिक्किम विलयलाई चीनले अहिलेसम्म औपचारिक रुपमा मान्यता नदिनु र 'मान्यता दिइने पनि छैन' भनेर बेइजिङ्गबाट सूचित गरिएको सन्दर्भ यहाँ स्मरण गर्नु उपयुक्त होला ।
नेपाली भूमिमा बढ्दो राजनीतिक अस्थिरता तथा भारतीय र अमेरिकीको यहाँ चुलिँदो हैकमका कारण नेपालमा चीन-प्रतिकूल वातावरण बन्ने चिन्ता बेइजिङ्गलाई छ । 'चुपचाप' काम गर्ने चीन यतिबेला खुला रुपमा आउनु भनेको 'अब अति भयो' भन्ने सन्देशका रुपमा बुझ्नु उपयुक्त हुन्छ । 'नेपालको सार्वभौमसत्ता रक्षाका लागि चीनले सहयोग गर्नेछ' भन्ने चिनियाँ नेताहरुको केही समय अघि आएको अभिव्यक्तिलाई सन् १९६२ मा चेन यीले दिएको चेतावनीसँग जोडेर हेर्नु सान्दर्भिक हुन्छ ।
चेन यीको चेतावनी लगत्तै चीनले भारतमाथि आक्रमण गरेको थियो, सन् १९६२ मा । नेपालमा राजा महेन्द्रको शासनप्रति नयाँ दिल्लीले त्यसबेला अपनाएको नीति चीन-भारत युद्धपछि १८० डिग्रीमा घुमेको र त्यो झण्डै तीन दशकसम्म जारी रहेको अहिले स्मरणयोग्य छ । कोदारी राजमार्ग बनाउने सम्झौताको विरोध गर्दै नेपालमाथि भारतले लगाएको नाकाबन्दी चिनियाँ आक्रमण लगत्तै फुकुवा गरेको पनि सम्झनु मनासिव होला यतिबेला ।
नेपाली भूमि बाहेक चीनको पूर्व, दक्षिण र पश्चिम दिशामा भैराखेको विकासलाई पनि हेर्नु आवश्यक छ । साउथ चाइना सीमा बढ्दो तनाव, ताइवानको सैन्य सुदृढीकरण, भारतीय शासकहरुले दलाई लामालाई दिँदै लगेको बढी छुट, किर्गिस्तान लगायत केही पूर्वसोभियत गणराज्यमा भैराखेको चीन लक्षित अप्रत्यक्ष गतिविधि, तिब्बत लगायत पश्चिमी चीनको मुस्लिम बाहुल्य क्षेत्रमा देखिन थालेको गडबडी जस्ता विकासक्रमले चीनलाई उत्तेजित पार्दैछ ।
नेपाल बाहेक अन्यत्रका सन्दर्भमा चीनको रणनीति फरक ढंगले जाने देखिन्छ । तर नेपालमा स्थायित्वका साथै 'सशक्त', 'राष्ट्रवादी' तथा 'स्वाभिमानी' शासनको अपेक्षा चीनले गरेको छ भन्ने सन्देश बेइजिङ्गबाट आइराखेको छ, बुझ्नेका लागि । चीनको यो चाहनासँगै उसको खुला कूटनीतिक व्यबहारलाई नेपाली शासकले मात्र होइन नेपाली भूमिमा 'हैकम' देखाउने अन्यले पनि बेलैमा बुझ्नु श्रेयष्कर हुन्छ ।
प्रभूत्व बिस्तारको रणनीति
अन्तर्राष्ट्रिय शक्ति समीकरणमा प्रभावशाली शक्तिका रुपमा उदय हुँदैगरेको चीन अव प्रतिरक्षात्मक मात्र होइन आक्रामक रुपमा आफ्नो प्रभूत्व फैलाउन खोज्दैछ । साउथ चाइना सीमा भारतसमेत प्रबेश गर्न खोज्दा बेइजिङ्गबाट आएको हुँकार, अष्ट्रेलियामा अमेरिकी सेना राख्ने सम्झौताको विरोधमा चीनले अष्ट्रेलियालाई दिएको 'क्रसफायरमा पर्नसक्ने' चेतावनी, भारतले अमेरिकासँग आणविक सम्झौता गरे लगत्तै चीनले पाकिस्तानसँग गरेको सामरिक सम्झौतालाई कम महत्व दिइनु हुँदैन । यो सम्झौताको असर आगामी दिनमा दक्षिण एशियामा देखिनेछ । केही विश्लेषकहरुले 'स्ट्रिङ्ग अफ पर्ल्स' भन्ने गरेको दक्षिण एशिया र हिन्द महासागरमा चीनको गतिविधिलाई सामान्य मान्न सकिन्न, क्षेत्रीय शक्ति समीकरणको सन्दर्भमा । दोश्रो विश्व युद्ध पछिको शीत युद्धकालीन दुई ध्रुवीय शक्ति समीकरण फेरिइसकेको छ भन्ने यहाँ नेर सम्झनु आवश्यक छ, पाकिस्तान-अफगानिस्तान-भारतको सन्दर्भमा चीनको रणनीतिका दृष्टिले । त्यसैले आउँदा दिनहरु हिमालयन एशिया चीन केन्द्रित हुने निश्चित छ । र नेपालले गम्भीर तर अकल्पनीय अबस्थाको सामना गर्नुपर्ने हुन सक्छ ।
It is vividly clear that the international players are on the peak of their game and soon will begin the new era in Nepal. But before 'ready for the impact'. thank you deepak ji.
ReplyDelete