Nov 29, 2011

चीन-भारत तनावका सम्भावित खतरा


दीपक गजुरेल

पाँच दशकभन्दा बढी समयदेखि सीमा विवादमा अल्झिरहेका चीन र भारतबीच पछिल्लो सीमा वार्ता नहुने भएको छ । दलाई लामालाई भारतको राजधानी नयाँ दिल्लीमा प्रवचन गर्न अनुमति दिने भारतीय नीतिको विरोध गर्दै चीनले सो वार्तामा सहभागी नहुने जनाउ दिएको हो । सन् १९६२ को संक्षिप्त युद्धपछि लगातार विवादमा रहेको सीमा सम्बन्धमा दुबै देशबीच १४ पटक वार्ता भैसके पनि अल्लेखनीय प्रगति चाहिँ हुनसकेको छैन ।

सीमा विवाद र सामरिक होडबाजी जारी रहे पनि चीन र भारत आपसी व्यापारचाहिँ बढाइराखेका छन् । अहिले करिब ६० अर्व अमेरिकी डलर रहेको दुईपक्षीय व्यापार आगामी चार वर्षमा १०० अर्व डलर पुर्याउने लक्ष्य रहेको बताइएको छ । औपचारिक रुपमा, आधिकारिक सरकारी स्तरमा, चीन र भारतबीच कुनै प्रकारको संवेदनशील तनाव देखिन्न । तर करिब २ महिना यता आम-सञ्चारका माध्यमबाट बेइजिङ्ग र दिल्ली दुबै एक अर्का विरुद्ध खनिएका छन्

चीन-भारतबीच बढ्दो तनाव
चिनियाँ अखबार वा समाचार संस्थाले भनेका/लेखेका कुरालाई सिद्धान्तत: चीनको सरकारी धारणा मानिन्न । तर चीनको शासन प्रणाली र त्यहाँको शैली अनुसार चीनका अखबार, टेलिभिजन वा समाचार संस्थाले भनेका/लेखेका बिचारलाई चीनको सरकारी धारणाका रुपमा हेरिन्छ । र यतिबेला चिनियाँ समाचार माध्यमहरु भारत विरुद्ध आक्रामक रुपमा खनिएका छन्

भारत वा अन्य कुनै छिमेकी देशका बारेमा सामान्यतया त्यति 'कभरेज' नदिने चिनियाँ समाचार माध्यमहरु गत सेप्टेम्बर यता लगभग दिनहुँजसो भारतका बारेमा लेख्दै/बोल्दै आएका छन् । पाँच दशकको चिनियाँ शैली र तरिकाको पृष्ठभूमिमा यो अस्वभाविक हो । चिनियाँ कम्यूनिष्ट पार्टी वा सरकारले कसैलाई कुनै सन्देश दिनुपर्यो भने आफ्ना सञ्चार माध्यम मार्फत अहिले जसरी नै दिने गर्छन् भन्ने विगत्ले देखाउँछ । त्यसैले यसबेलाको भारत विरुद्ध चिनियाँ आक्रामकतालाई सामान्य ढंगले लिनसकिने अवस्था छैन ।

भारतका समाचार माध्यमहरु बेलाबेला चीनको आक्रामक नीति तथा कार्यशैलीको आलोचना गर्छन् 'चीनले भारतलाई घेर्दैछ', 'चीनले भारतको सीमा मिच्यो' जस्ता प्रचार भारतीय सञ्चार माध्यममा नियमितजसो आइराख्छन् । तर यसबेलाको चिनियाँ शैली बढी नै आक्रामक देखिँदैछ । 'भारतलाई पाठ सिकाउनै पर्छ' भनेर केही दिन अघि बेइजिङ्गबाट प्रकाशित हुने ग्लोबल टाइम्सले लेख्यो । भारतले साउथ चाइना सीमा प्राकृतिक स्रोतको अन्वेषण गर्न गत सेप्टम्बरमा भियतनामसँग सम्झौता गरेपछिका दिनमा यस्तो चिनियाँ चेतावनी बढ्दो छ ।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाले यही नोभेम्बर ८ मा 'पूर्वतर्फ बढ्नुअघि भारतले सोच्नु पर्छ' भन्ने शीर्षकमा भारतलाई चेतावनी दिँदै लेख्यो, 'विदेश नीति बनाउँदा त्यसको परिणाम के हुनेछ भन्ने विषयमा दुई पटक सोच्न भारतलाई सुझाव छ ।'

गत् तीन महिनाको अवधिमा अफगानिस्तान, भियतनाम, म्यानमार लगायतका देशहरुसँग भारतले गरेको सुरक्षा सम्बन्धी सम्झौताहरुको पनि चिनियाँहरुले विरोध गरेका छन् 'आफ्नो वरपरको क्षेत्रमा चीनको बढ्दो प्रभावलाई सन्तुलित पार्ने उद्देश्यले भारतले यी देशहरुसँग यस्ता सम्झौताहरु गरेको बुझिन्छ' भन्दै सिन्ह्वाले लेखेको छ, 'चीनको तागत्देखि डराएर भारत आफ्नो सैनिक संख्या बढाउँदैछ, र सेनाको आधुनिकीकरण गर्दैछ ।' तर जे गरे पनि भारत चीनको अगाडि केही गर्न सक्ने हुनेवाला छैन भन्ने चेतावनी पनि उक्त चिनियाँ सरकारी समाचार संस्थाले दिएको छ ।

भारत विरुद्ध चेतावनीयुक्त बिचार सिन्ह्वा, ग्लोबल टाइम्स्, चाइना वायर, पिपुल्स डेली जस्ता चिनियाँ सञ्चार माध्यमहरुबाट मात्र आएका छैनन् । चिनियाँ सेनाको आधिकारिक प्रकाशन 'पि. एल. . डेली' ले समेत भारतलाई 'अर्काको अधिकार क्षेत्रमा प्रवेश गर्नु अघि बिचार पुर्याउन, नत्र परिणाम भोग्न तयार रहन' चेतावनी जारी गरेको छ । केही हप्ता यताका चिनियाँ सञ्चार माध्यममा भारत सम्बन्धमा आइराखेका सामग्री हेर्दा यस्तो लाग्छ, चीन भारतसँग बेस्सरी रिसाएको छ र चिनियाँ सेनाले भारतमाथि कुनै पनि बेला आक्रमण गर्न सक्छ ।

भारतमा चीनको त्रास
उत्तरी छिमेकी चीनका तर्फबाट भारतविरुद्ध तगातार चेतावनीयुक्त धारणा आइराखेको बेला केही भारतीय 'थिङ्क ट्याङ्क' हरुबाट चीन-भारत युद्धको खतरा औँल्याउन थालिएको छ । रणनीतिक विश्लेषक शशी थरुर लगायत कतिपय भारतीय विद्वानले अव 'चीन-भारत युद्ध टार्न सकिन्न' सम्म भन्न थालेका छन् । भारत र चीन दुबै अन्तर्राष्ट्रिय शक्ति समीकरणमा आ-आफ्नै ढंगले अघि बढेका र एउटाको कदमले अर्कालाई बाधा पुग्ने अवस्था रहेकाले यी दुई देशबीच द्वन्द्व बढेर जाने ठहर उनीहरुको छ ।

चीनले पाकिस्तानी सेनासँग मिलेर आतङ्कवाद विरुद्ध हालै गरेको संयुक्त सैनिक अभ्यासलाई 'चीनले भारतलाई डर देखाएर तर्साएको' व्याख्या भारतीय टेलिभिजनहरुले गरेका छन् । सामरिक तथा रक्षा सम्बन्धी केही स्वतन्त्र भारतीय विश्लेषकहरुले अब चीन र भारत युद्धमा होमिन्छन् तर भारत चीनसँग युद्धका लागि तयार छैन भनेका छन्

एकजना भारतीय रक्षा विशेषज्ञ भरत वर्माले त झण्डै दुई वर्ष अघि नै 'चीनले भारतमाथि आक्रमण गर्ने 'अग्रिम जानकारी' दिएका थिए । सन् २०१२ भित्र चीनले भारतमाथि कुनै न कुनै बहानमा सैनिक हमला गर्ने स्थिति बन्दै गएको चेतावनी विवादमा परिरहने यी विशेषज्ञले दिएका थिए ।

स्वतन्त्र विशेषज्ञ र सञ्चार माध्यमहरुले भारतमाथि चिनियाँ आक्रमणको त्रास देखाइराखेको बेला भारतीय रक्षा मन्त्रालयसँग सम्बन्धित तर स्वतन्त्र संस्थाको रुपमा प्रचारित एउटा 'थिङ्क ट्याङ्क' ले चीन-भारत युद्धको संभावित परिदृश्य सहितको एउटा प्रतिवेदन सार्वजनिक गरेको छ । करिव एक महिनाअघि प्रकाशित इन्ष्टिच्यूट अफ डिफेन्स स्टडिज् याण्ड एनालिसिस् (आईडिएसए) को सो प्रतिवेदनमा चीन र भारत दुबैतिर एक अर्काप्रति अविश्वास रहेको स्वीकारिएको छ । 'भारतले आफ्नो सैनिक सुदृढीकरण गर्दैछ । अहिलेका लागि मात्र होइन भविष्यका लागि पनि त्यसो गर्नु आवश्यक छ । तर पनि चीनले भारत विरुद्ध 'याक्सन्' लिन सक्छ' भन्छ आईडिएसएको कन्सिडरेसन अफ सिनो इण्डियन कन्फ्लिक्ट शीर्षकको सो प्रतिवेदन ।

'भारत आगामी दिनमा अझै शक्तिशाली र सशक्त बन्न सक्छ । त्यसैले भारत अझ बलियो हुनु अघि नै भारतलाई रोक्न 'प्रिएम्प्टिभ वार' मा चीन जान सक्छ' भन्ने सो थिङ्क ट्याङ्कको प्रक्षेपण छ । आईडिएसएको सो प्रतिवेदनले चीन-भारत युद्धका विभिन्न संभावित परिदृश्य समेत आंकलन गरेको छ । र त्यस्तो युद्धको परिणाम भारतका साथै छिमेकी नेपाल र भूटानमा समेत कसरी तथा कस्तो पर्नेछ भन्ने प्रक्षेपण गरेको छ ।

औपचारिक रुपमा स्वतन्त्र भनिए पनि वास्तविक रुपमा भारतीय रक्षा मन्त्रालय अन्तर्गतको रक्षा सम्बन्धी विश्लेषण गरी आवश्यक नीतिगत् सुझाव दिने सो संस्थाले चीनले भारतमाथि आक्रमण गरेको बेला पाकिस्तानले पनि भारतमाथि दवाव बढाउने रणनीति अख्तियार गर्न सक्ने तर्फ समेत नयाँ दिल्लीका नीति निर्माताहरुलाई सचेत गराएको छ ।

साउथ चाइना सीमा भारत प्रवेश गर्न खोजेको विषयलाई लिएर विवाद उत्पन्न भएका कारण पूर्व रक्षा मन्त्री जशवन्त सिँह लगायतका केही भारतीय विद्वानहरुले चीन र भारतबीच समुद्रमा भीडन्त हुनसक्ने आशंका गरेका छन् । तर आईडिएसएले चीन-भारत लडाइँ यी दुबै देशको सीमाको भूमिका हुने आँकलन गरेको छ । 'चीनले तवाङ्ग कब्जा गर्न सक्छ । त्यस्तै, कश्मीर लडाइँको अर्को क्षेत्र हुनसक्छ' आईडिएसए भन्छ ।

परम्परागत् रुपमै विश्वासको संकटमा रहेका चीन र भारतबीच अहिलेको यो छद्म जस्तो देखिने वाक्युद्धको परिणाम के र कस्तो हुने हो, अहिले नै ठोकुवा गर्न सकिन्न । तर अहिलेको यो द्वन्द्वले भावी दिनमा हिमालयन एशियाका लागि खतरनाक स्थिति सिर्जना गर्न सक्ने संभावना चाहिँ बढाएको छ ।

गजुरेल त्रिभूवन विश्वविद्यालयमा राजनीतिशास्त्री हुन्

नयाँ पत्रिका दैनिकमा प्रकाशित, मंसीर १३, २०६८ (नोभेम्बर २९, २०११)

No comments:

Post a Comment