Jun 30, 2010

समस्याको जड नेताहरु नै हुन्

दीपक गजुरेल

मुलुकको संक्रमण लम्बिँदो छ । एउटा प्रणाली फालेर अर्को राजनीतिक शासन प्रणालीमा जाने क्रममा अनेक अबरोध खडा भएका छन् । कुनै प्रणाली बन्न सकेको छैन । बितेको चार वर्षको अवधिमा 'नयाँ नेपाल' बनाउने नारा दिइयो । तर त्यो नयाँ नेपालको शासन प्रणाली कस्तो हुनेछ भन्ने विषयको टुँगो अझै लागेको छैन । संविधानसभाले नयाँ संविधान बनाएर मुलुकमा स्थायी प्रणाली दिने लक्ष्य दिन–प्रति–दिन टाढिँदै गएको छ ।

'लोकतान्त्रिक गणतन्त्र' नेपालमा कस्तो शासन ल्याउने भन्ने अन्यौल कायम रहेका बेला केही नेताहरुले मुलुक र आम नागरिकलाई बन्दी बनाएका छन् । दुई वर्ष भित्र नयाँ संविधान बनाउने भनी जनताले दिएको मत विपरित काम भैराखेका छन् । केही 'प्रमुख' भनिने दल र तिनका नेताहरुको इच्छाको बन्दी बनेका कारण संविधानसभाले तोकिएको समयमा संविधान बनाएन ।

नेपाली नागरिकले निर्वाचन मार्फत तोकिदिएको समयसीमा आफूखुशी बढाइयो । तर पनि स्थिति जहाँको त्यहीँ छ । तीन बुँदे सहमतिबारेको विवादको बहानामा मुलुक फेरि बन्दी बनेको छ । थपिएको एक वर्षको अवधि मध्ये एक महिना भन्दा बढी समय त्यसै खेर फालियो । तर समस्या समाधान हुनुको साटो एक पछि अर्को गर्दै जटिलता थपिँदो छ ।

समस्याको जड नेता
नेपाल राष्ट्रले विकास गर्न नसक्नु, जनताले उन्नति गर्न नसक्नुमा राजतन्त्र दोषी हो भनियो । राजाहरुले नेपाल राष्ट्रलाई अधोगतिमा पुर्याए भन्ने आरोप लगाइयो । नेपालमा राजतन्त्र रहेसम्म कुनै पनि समस्या समाधान हुन सक्तैन भन्ने दावीको प्रचार जोडतोडका साथ गरियो । अनेक राजनीतिक तिकडम अपनाएर, प्रजातान्त्रिक मूल्य तथा मान्यता विपरित राजतन्त्र फालियो । राजतन्त्र फालेपछि अब यो मुलुकमा स्वर्ण युग शुरु भयो भनियो ।

तर यी मध्ये कुनै पनि दावी सही साबित भएनन् । राजतन्त्र फाल्नासाथ नेपालमा राजनीतिक स्थायित्व र शान्ति आइहाल्छ भन्ने दावी गलत प्रमाणित भयो । त्यति मात्र होइन, राजनीतिमा हिँसा व्यापक बनाइयो । अहिले राजनीति, हिँसा र अपराधमा भिन्नता छुट्याउनै गाह्रो अबस्था छ ।

राजनीतिक स्थायित्व मृगमरिचिका बनेको छ र आम नेपाली नागरिक त्रास र अन्यौलमा जीवन यापन गर्न बाध्य पारिएका छन् । नेपाली राजनीतिमा सबै समस्याको जरो राजतन्त्र हुन्थ्यो भने राजतन्त्र समाप्त पारिएपछिका दिनमा ती समस्या नरहनु पर्ने हो । तर त्यसो भएको छैन ।

राजनीतिक दल र नेताहरुको कृयाकलापले आम नागरिकमा उनीहरु प्रति वितृष्णा बढाउँदै लगेको छ । अघि गरिएका बाचाहरु पूरा नगरिँदा र जटिलता झन् झन् बढ्दा अब स्पष्ट भैसक्यो, समस्याको मूल जरो राजतन्त्र होइन रहेछ । समस्याको मूल हाम्रा राजनीतिक दल र तिनका नेताहरु हुन् भन्ने अब प्रष्ट भैसक्यो ।

'संक्रमण कालमा यस्तै हुन्छ' भन्ने गरिन्छ । तर स्थिति हाम्रा नेताहरुले भनेजस्तो सजिलो छैन । अबस्था गम्भीर छ, प्रजातान्त्रिक मूल्य र मान्यताका आधारमा हेर्दा । 'सहमति' को व्याख्या आफ्नो स्वार्थ र इच्छा अनुसार गर्ने चलन एकातिर छ भने संविधान र कानूनको व्याख्या तथा कार्यान्वयन समेत मनपरी ढंगले गरिँदैछ, र आफूलाई संविधान भन्दा माथि राखेर काम गरिन्छ । प्रमुख भनिनेहरुबाट जसरी यसबेला मुलुकलाई अघि बढ्न दिइएको छैन, त्यसबाट प्रष्ट हुन्छ, यिनीहरु राष्ट्र तथा जनताप्रति अलिकता पनि जिम्मेबार छैनन् र यिनै समस्याका जड हुन् ।

विदेशी स्वार्थ र हाम्रो स्थिति
नेपालको राजनीति जति अन्यौलग्रस्त बन्दै गएको छ, त्यति नै बाहिरियाहरुको चासो र गतिबिधि हामीकहाँ बढ्दै गएको छ । नेपालमा जब–जब दलहरुले शासन सञ्चालन गरे तब–तब विदेशीको हालीमुहाली बढेको पाइन्छ यहाँको राजनीतिमा । २००८ सालमा भारतीय सेना नेपाली भूमिमा भित्र्याउने कर्म होस् वा नेपालको जलस्रोतमा भारतीयको हात माथि पार्ने सन्दर्भ, सबै प्रसंगमा नेपाली राजनीतिक दलका नेताहरु विदेशीको मुख ताक्ने गरेको उदाहरण पाइन्छ ।

२०४६ सालको आन्दोलन नेपाल माथि भारतले नाकाबन्दी लगाएको पृष्ठभूमिमा सफल भएको कुरा बिर्सन मिल्दैन । भारतीय नेतालाई काठमाडौँमा निम्त्याएर नेपालको आन्तरिक राजनीतिमा बिभत्स ढंगले हस्तक्षेप गर्न लगाउने प्रवृत्तिकै कारण भारतीय हालीमुहाली नेपालमा व्यापक भएको हो । यो नै हाम्रो स्वाभिमान माथिको सबै भन्दा ठूलो आघात थियो । आन्तरिक राजनीतिमा सत्तासंगको लडाइँमा विदेशी प्रभूत्व निम्त्याउने प्रवृत्तिले 'नेपाल माथि नाकाबन्दी लगाइदेऊ' भन्ने सम्मको पराकाष्ठामा हाम्रा राजनीतिक दलका नेताहरुलाई पुर्यायो । र यही गलत प्रवृत्तिले गर्दा उनीहरु स्वभाविक रुपमा विदेशीको निर्देशन मान्न र उनीहरुले अह्राए अनुरुप चल्न बाध्य बनेका हुन् ।

क्रमश: विदेशीको चाहना अनुसार काम गरेको परिणाम अहिलेको जटिलता हो । देशको नामै तोकेर प्रमुख नेताहरु फलानाले नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्यो भन्छन् । अघि आफैँले विदेशीको योजना मुताविक काम गरेको हो भन्न पनि छुटाउँदैनन् । १० वर्ष नेपालमा क्रान्ति गर्दा साढे आठ वर्ष भारतमै बसेर यहाँ क्रान्ति गरेको तथ्य सम्बन्धितबाटै आइसक्यो, औपचारिक रुपमा । नेपालमा सत्ता परिवर्तन गर्ने १२ बुँदे सहमति भारतीयहरुको निर्देशनमा भएको कुरा पनि औपचारिक रुपमै सार्वजनिक भैसक्यो । हालको अन्तरिम संविधान समेत भारतीयहरुले नै हिन्दी भाषामा लेखेर पठाइदिएको रहश्य त्यसबेलै एक नेताले खोलेकै हुन् ।

संविधानसभाको चुनाव पछिका दिनमा चाहिँ स्थिति भिन्न बन्यो । एकलौटी भारतको मात्र निर्देशनमा चल्न जति सजिलो थियो हाम्रा नेताहरुलाई, त्यसमा बाधा उत्पन्न भयो । नेपाली राजनीतिक नेताहरु मार्फत चल्दै आएको भारतीय हालीमुहालीमा अनेकौँ प्रतिस्पर्धी खडा भए पछिल्लो समय । भारतसंगै चीन, अमेरिका, यूरोपेली राष्ट्र समेतको गतिविधि नेपालमा बढ्दै गयो, गएको केही वर्ष यता । यी सबैको आ–आफ्नै स्वार्थ छन् नेपालसंग जोडिएका । यहीँ नेर हाम्रा नेताहरुलाई समस्या परेको हो । एउटा मात्रको इच्छा अनुसार चल्दै गर्दा विपरित स्वार्थ भएकाबाट समेत दवाव बढ्न थाले पछि हाम्रो राजनीतिमा जटिलता सिर्जना भएको हो ।

विदेशी हस्तक्षेप भन्ने गरिएको अहिलेको अबस्था हामीले नै सिर्जना गरेको स्वभाविक परिस्थिति हो । नेपालको शासन व्यबस्था विरुद्ध विदेशीको 'दबाव मूलक सल्लाह' मा सम्झौता गरेर आन्दोलनमा गएका हाम्रै नेताहरु हुन् । आन्दोलन सफल भएपछि पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठकमा विदेशका सांसदलाई नेपालीको अस्मितामै आँच आउने गरी स्वागत् गरेको हामीले नै हो । यो स्वाभिमानी मुलुकलाई विदेशका एउटा कर्मचारीले हप्काउने अबस्थामा पुर्याउने यिनै नेताहरु हुन् ।

हाम्रो भूराजनीतिक अवस्थितिले गर्दा दक्षिण एशियाको यो भूभागको महत्व यतिबेला बढेको छ । अन्तर्राष्ट्रिय शक्ति समीकरणमा आएको परिवर्तनसंगै यस क्षेत्रको महत्व बढ्दै गएको हो । महाशक्ति राष्ट्र सोभियत संघ विघटन भएपछि बदलिँदै गएको विश्व शक्ति समीकरणले ९/११ को घटना पछि तीव्र गतिमा कोल्टे फेर्यो । क्षेत्रीय शक्तिका रुपमा स्थापित भारत र चीनको बीचमा रहेको नेपाली भूभाग 'विश्वको एक मात्र निर्विकल्प नेता' का लागि 'रणनीतिक आवश्यकता' बन्न पुगेको हो । गएको ७–८ बर्ष यता नेपालमा भएका घटनाक्रमलाई सुक्ष्म ढंगले केलाउने हो भने धेरै कुरा प्रष्ट हुन्छ ।

१२ बुँदे सम्झौता अनुरुप अहिले सम्म जे जति भयो, त्यो अव अगाडि चल्ने अबस्था रहेन । एउटा दिशावाट निर्देशित वाटो उत्तर, पश्चिम जताततैवाट अबरुद्ध हुन थाले पछि 'सहमति' अनुसार चल्न सम्भव हुन्न । किनकि हामी आफ्नो बलबुता र विवेकले काम गर्नै नसक्ने गरी मरणान्त बनिसकेका छौँ ।

फरक र परस्पर बाझिने स्वार्थका दवावका अगाडि केही गर्न सक्ने स्थितिमा हामी छैनौँ । र यो दवाव बढाउँदै लगिएकाले अहिले हाम्रा राजनीतिक शक्तिहरु सबैले देख्ने र बुझ्ने गरी आमने–सामने भीडन्तको मुद्रामा उभिन पुगेका हुन् । संगै हिँड्नै नसक्नेहरुलाई एउटै हलोमा नार्दाको परिणाम देखिने यसबेला उपयुक्त समय बनाइएको मात्र हो । विदेशीहरुबीच चलिराखेको यो छद्म भिडन्तमा संलग्न शक्तिहरु हाम्रो सन्दर्भमा हामीले थेग्नै नसक्ने हैसियतका छन् । र यो स्थितिमा हाम्रा नेताहरुले 'केही' गर्न सक्ने अबस्था लगभग शून्य छ । उनीहरुले गर्न सक्ने भनेको 'सहमति' का नाममा अलि समय अझै राष्ट्रलाई अलमल्याउने मात्र हो ।

Jun 9, 2010

'सहमति' को भ्रम अझ कतिञ्जेल ?


दीपक गजुरेल

दुई वर्षे अवधिको जनादेशद्वारा गठन गरिएको संविधानसभाले तोकिएको समयसीमा भित्र नयाँ संविधान बनाएन । संविधानसभाको आयु समाप्त भएको झण्डै दुई घण्टा पछि त्यसको म्याद थप्ने निर्णय गरियो । र अब यो संविधानसभाको आयु आगामी वर्ष २०६८ सालको जेठ १४ गते सम्मलाई कायम गरियो ।

दुई वर्षको निर्धारित समयमा नयाँ संविधान किन बनाइएन भन्ने प्रश्नको जवाफ नेपाली नागरिकलाई नदिइकनै एक वर्ष अवधि थप गरियो । संविधान संशोधन गरेर संविधानसभाको म्याद नथपिएको अबस्थामा भयावह स्थिति आउने दृश्य देखाएर सिँगो राष्ट्रलाई एकोहोर्‍याएर जनादेशलाई अप्रजातान्त्रिक ढँगले लम्ब्याइयो । यस अर्थमा हाल कायम गरिएको संविधानसभा जनादेश प्राप्त नभएर केही नेताहरुद्वारा मनोनित निकायमा परिणत भएको छ । यस्तो हैसियतको निकायले नयाँ संविधान बनाइहाल्यो भने पनि त्यसको संवैधानिक तथा राजनीतिक वैधानिकतामाथि प्रश्न उठ्‍नेछ, उपयुक्त समयमा ।

यसबेलाको अडान
संविधानसभाको म्याद थप गर्ने सन्दर्भमा प्रमुख तीन दलबीच तीन बुँदे सहमति भयो । विवाद अन्त्य गरी मुलुकको राजनीतिलाई सही दिशा देला भनी आशा गरिएको त्यो सहमतिले थप समस्या खडा गरेको छ । सहमतिको व्याख्या आ–आफ्नै स्वार्थ अनुरुप गर्ने क्रम जारी छ । व्याख्या नै स्पष्ट र सर्वसम्मत नभैराखेको अवस्थामा सहमतिका प्रावधान कार्यान्वयन हुने संभावना रहँदैन । त्यसैले हालको राजनीतिक अन्यौल जारी रहने देखिन्छ । सत्ताधारी दलहरुले आफूलाई धोका दिएको आरोप माओवादीले लगाएको छ । काँग्रेस र एमाले यो धोका होइन, माओवादी चाहिँ इमानदार नभएको हो भन्ने तर्क गर्दैछन्‍ । माओवादीले शान्ति प्रक्रियाका महत्वपूर्ण शर्तहरु पालना नगरेको आरोप संसदवादी दलहरुको छ ।

दिल्लीमा गराइएको १२ बुँदे सम्झौता देखि आजसम्म गरिएका एक दर्जन भन्दा बढी सहमति, सम्झौताहरुमा माओवादीले थुप्रै प्रतिवद्धता व्यक्त गरेको छ । तर ती कुनै पनि प्रतिवद्धता माओवादीले आफ्ना तर्फबाट पूरा गरेको छैन भन्ने दावी संसदवादी दलहरुको रहँदै आएको छ । उनीहरुको यो दावीमा सत्यता छ ।

तर स्थिति संसदवादीहरुले भने जस्तो मात्र होइन । बलजफ्ती कब्जा गरिएका सम्पति फिर्ता गर्ने, लडाकू व्यवस्थापन गर्ने जस्ता महत्वपूर्ण कामहरु गरिएका छैनन्‍ । पटक पटक समयसीमा तोकेर गर्ने भनिएका ती काम आज सम्म राम्रो ढंगले शुरु हुन समेत नसक्नुमा माओवादी मात्र दोषी छ भन्न सकिने अवस्था छैन ।

संविधानसभाले आफ्नो प्राकृतिक आयु गुमाइसकेपछि कडा अडानका साथ पुराना सम्झौताहरुको प्रभावकारी तथा सम्पूर्ण कार्यान्वयनको मुद्दा उठाइएका छन्‍ । २०६२ मंसीर ७ गते हस्ताक्षरित १२ बुँदे सम्झौता, वृहत्त शान्ति सम्झौता, अन्तरिम संविधान, ८ बुँदे, २५ बुँदे लगायतका अन्य धेरैवटा सहमति र सम्झौता जतिबेला कार्यान्वयन गरिनु पर्थ्यो त्यसबेला गरिएन । कार्यान्वयन गर्नु पर्ने माओवादी र गराउनु पर्ने संसदवादीहरु यस मामलामा इमानदार भएनन्‍ । टालटुल पार्दै आफूलाई कसो गर्दा तत्कालका लागि फाइदा हुन्छ, त्यही गर्दै अघि बढ्‍दाको परिणाम हो अहिलेको अबस्था ।

'माओवादी नागरिक पार्टीमा रुपान्तरण हुनुपर्‍यो' भन्ने अडान यसबेला राख्ने पक्षले बितेका वर्षहरुमा के गरियो भन्ने प्रश्नको चित्त बुझ्‍दो उत्तर दिनसक्नु पर्छ । बन्दूक बोकिराखेको, हिँसा अहिले सम्म नत्यागेको माओवादीलाई राजाद्वारा पुनर्स्थापित प्रतिनिधिसभामा मनोनयन गरियो । संविधानसभाको चुनावमा अन्य राजनीतिक दलहरुकै जस्तो हैसियतमा माओवादीले भाग लियो । अन्तरिम संविधानमा व्यवस्था भए अनुसारका प्राबधान अनुरुप माओवादीले सरकारको नेतृत्व समेत गर्‍यो । यी सबै काम गरिँदा माओवादीले गम्भीर विषयहरुमा भएका सहमतिहरु पालना गरेको थिएन । १२ बुँदे सम्झौता देखि पछि सम्म गरिएका सहमतिहरुमा व्यक्त प्रतिबद्धता कार्यान्वयन नगरिकनै माओवादी एउटा प्रतिस्पर्धात्मक राजनीतिक दलको हैसियत प्राप्त गर्न सफल भयो । र त्यो सम्पूर्ण प्रक्रियालाई संसदवादीहरुले क्रमैसंग अनुमोदन गर्दै र स्वीकार गर्दै आए ।

जेठ १४ गते भएको तीन बुँदे सहमतिको बुँदा नम्बर एकमा उल्लेखित काम माओवादीले गर्नै पर्छ भन्ने अडान राख्नेहरुले उसबेला त्यही अडान किन राखेनन्‍ ? भोलिका दिनमा कस्तो अबस्था उत्पन्न हुन सक्नेछ भन्ने विश्लेषण किन गरिएन्‍ ? दुई वर्ष भन्दा बढी समय सम्म किन केही नगरी बसियो ? यी प्रश्नहरुको चित्त बुझ्‍दो जवाफ संसदवादीहरुले नेपाल राष्ट्रलाई नदिए सम्म यिनलाई इमानदार मान्न सकिन्न ।

संविधान निर्माण कसरी ?
संवैधानिक रुपमा निर्धारित दुई वर्षको अवधिमा नयाँ संविधान निर्माण गरिएन । थपिएको एक वर्षमा संविधान बनाउने भनिँदैछ । तर स्थिति अब पनि सजिलो देखिन्न । गएको दुई वर्षमा संविधान निर्माणको काम ८० प्रतिशत गरिसकियो र अब २० प्रतिशत काम मात्र गर्न बाँकी छ भनिएको छ । नयाँ बन्ने संविधानमा राख्नु पर्ने आधारभूत विषयहरुमा 'सहमति' भैनसकेको अबस्थामा अधिकाँश काम गरिसकिएको भन्नुलाई ढाँटको रुपमा लिइनु पर्छ ।

संघीयताको स्वरुप र आधार के हुने ? शासन प्रणाली कस्तो हुने ? राष्ट्रपतीय प्रणाली कि संसदीय प्रणाली ? सरकारका तीन अंगहरुबीच शक्ति पृथकीकरणको स्वरुप कस्तो हुने ? नियन्त्रण तथा सन्तुलनको व्यबस्था हुने कि नहुने ? हुने हो भने कस्तो र कुन प्रकारको ? स्वतन्त्र न्यायपालिका रहने कि व्यवस्थापिका नियन्त्रित न्यायपालिका रहने ? नागरिक अधिकारहरुको प्रत्याभूति विश्व मान्यताका आधारमा हुने कि नहुने ? यी मध्ये कुनै पनि प्रश्नको उत्तर आइसकेको छैन । र राजनीतिक दलहरुबीच यी विषयमा टुंगो लाग्ने छनक समेत देखिएको छैन ।

'प्रमुख' हरुले संविधानसभामा प्रस्तुत गरेका र सार्वजनिक गरेका अवधारणामा उपर्युक्त आधारभूत विषयहरुमा आकाश जमीनको भिन्नता छ । संसदवादी दलहरुका धारणामा फरक दृष्टिकोण देखिए पनि यिनकाबीच तालमेल मिलाएर एउटा बिन्दूमा पुग्न सकिने आधार देखिन्छ । अर्कातर्फ, माओवादीले प्रस्तुत गरेको भावि संविधानको ढाँचा सर्वमान्य प्रजातान्त्रिक मूल्य तथा मान्यता भन्दा निकै टाढा छ । माओवादी र संसदवादीहरुले लेनदेनको माध्यमबाट सहमतिमा पुग्न सक्ने संभावना अत्यन्त क्षीण छ । यस्तो स्थितिमा कि त माओवादीको दृष्टिकोणमा अन्य सबैले समर्पण गर्नु पर्छ, वा माओवादीले अन्यको एजेण्डामा । र यो दुबै अवस्था कमसेकम अहिलेका लागि संभव देखिन्न ।

त्यसैले 'नयाँ संविधान निर्माणको काम ८० प्रतिशत सकियो' भन्नु १० तले घर बनिसक्यो, घरको जग हाल्न र भूइँ तल्ला बनाउन मात्र बाँकी छ भन्नु जस्तै हो । वास्तबमा संविधान निर्माणको सन्दर्भमा एक प्रतिशत पनि काम गरिएको छैन । घरको जग जस्तै महत्वपूर्ण आधारभूत संवैधानिक विषयहरुमा टुँगो नलागेसम्म अन्य कुरामा जति 'सहमति' गरे पनि, हजारौँ पाना लेखे पनि त्यसको कुनै अर्थ रहन्न । त्यस्ता कामको हैसियत शूत्य बराबर हुन्छ ।

अबको बाटो
माओवादीले हतियार त्यागेर हिँसा नछाडे सम्म 'सहमति' बन्न नसक्ने अडान प्रमुख संसदवादी दलहरुले लिएका छन्‍ । माओवादी यो माग मान्न तयार देखिन्न । आफ्ना लडाकू र हतियार साथमा राखेरै 'प्रतिस्पर्धात्मक' राजनीति गर्ने रणनीतिमा माओवादी अगाडि बढिराखेको छ । 'यस अघि माओवादीलाई विश्वास गरेर गल्ती गरिएछ' भन्ने अभिव्यक्ति संसदवादी नेताहरुबाट आउन थालेको छ अहिले । संसदवादीहरु माओवादीलाई उसको कूटिल रणनीतिमा अझ अघि बढ्‍न दिन चाहँदैनन्‍ भन्ने अब प्रष्ट हुँदै गएको छ । यसबाट बन्दूकधारी र मतपत्रमा विश्वास गर्नेबीचको जारी द्वन्द्व तत्काल टुंगिने सम्भावना देखिन्न ।

हतियारको शक्तिको आडमा यहाँ सम्म आउन सफल माओवादी हतियार र हिँसा त्यागेर 'कमजोर' बन्ने खतरा मोल्न तयार देखिन्न । हिँसाको राजनीति गर्ने शक्तिको सम्दर्भमा यो स्वभाविक हो । अर्कोतिर, मतपत्रमा विश्वास गर्ने संसदवादी दलहरु माओवादीको हतियारसँग प्रतिस्पर्धा गर्न सक्ने स्थितिमा छैनन्‍, हुन सक्तैनन्‍ । हतियारबाट अलग गराएर माओवादीलाई सकेसम्म कमजोर पार्ने रणनीतिमा संसदवादीहरु लागेका देखिन्छन्‍ ।

प्रजातान्त्रिक परिपाटीमा हतियार बोकेर राजनीति गर्न पाउनु हुन्न भन्ने मान्यताका हिसाबले संसदवादीहरुले यसबेला लिएको अडान आफ्नो ठाउँमा सही छ । हतियार र मतपत्र सँगै जान सक्छन्‍ भनेर विगत्‍मा अपनाइएको मान्यता र त्यस आधारमा हिँडिएको बाटोले मुलुकलाई आजको जटिल अबस्थामा पुर्‍याएको हो । तर हामीले पहिलाको त्यो गलत मान्यता त्याग्यौँ भन्ने घोषणा चाहिँ अझ गरिएको छैन । बरु 'सहमतिको विकल्प छैन' भन्दै थप भ्रम छर्ने काम जारी राखिएको छ । 'विगत्‍मा गल्ती गरिएछ' भन्ने बोध यसबेला भए जस्तै अहिले चलाइराखिएको 'सहमतिको प्रयास जारी छ' भन्ने भ्रम तोड्‍न जति ढिलो गरिन्छ, मुलुक र नागरिकले त्यति जटिलता र संकट भोग्नु पर्ने निश्चित छ । त्यसैले, सम्बन्धितहरुले अझ धेरै ढिला नगरी यो भ्रमबाट राष्ट्रलाई मुक्त गराउनु श्रेयष्कर हुनेछ ।