May 26, 2010

विदेशी हस्तक्षेपको डरलाग्दो प्रवृत्ति

दीपक गजुरेल

नेपालको आन्तरिक राजनीतिमा विदेश 'चलखेल' केही वर्ष अघिसम्म खुला रहश्य झैँ वौद्धिक जगत्मा चर्चाको विषय बन्थ्यो । तर अब परिस्थिति फेरिएको छ । प्रष्ट देखिने गरी मात्र होइन, अशोभनीय र अपाच्य ढंगले विदेशी मित्रहरु नेपालको आन्तरिक मामलामा दखल दिन थालेका छन् । नेपालको शासन प्रणाली कस्तो हुनुपर्छ, कानून कस्तो बनाउनु पर्छ, धर्म सम्बन्धी नियम कस्तो हुनुपर्छ, को प्रधानमन्त्री हुनुपर्छ जस्ता गम्भीर विषयमा समेत विदेशीहरुले हामीलाई निर्देशन दिन थालेका छन् ।

चार वर्ष अघि शुरु गरिएको 'शान्ति प्रक्रिया' र 'नयाँ नेपाल' निर्माण अभियानको समयमा विदेशीहरुको हस्तक्षेप बिभत्स ढंगले बढ्यो/बढाइयो । आफ्नो निहित स्वार्थका पक्षमा जुनसुकै विदेशीले जे गरे पनि वा जे भने पनि त्यसलाई 'लोकतन्त्र' को पक्षमा लिएर स्वागत् गर्ने चरित्र देखाइयो । एउटा सार्वभौमसत्ता सम्पन्न राष्ट्रले आफ्नो काम र निर्णय आफैँ गर्ने साश्वत मान्यतालाई तिलाञ्जली दिइयो । र पराइको बुई चढेर यो मुलुकमा मनपरि गरियो । यसो गर, यसो नगर जस्ता निर्देशनलाई पालना गर्दै अघि बढ्दा स्वभाविक परिणतिको रुपमा अहिलेको अवस्था सिर्जना भएको हो ।

हस्तक्षेपका केही नमूना
हाम्रा केही मित्र राष्ट्रका राजदूतहरुले कूटनीतिक मर्यादा नाघेर अत्यन्तै अपाच्य व्यबहार गर्ने गरेका छन्, केही समय यता । हाल युरोपेली युनियनको अध्यक्षता गरिराखेको फ्रान्सका राजदूतले हाम्रा प्रधानमन्त्री माधबकुमार नेपाललाई राजीनामा गरेर सहमतिका लागि मार्ग प्रशस्त गर्न 'आग्रह' गरेछन् । सञ्चार माध्यमहरुमा सार्वजनिक समाचार अनुसार माओवादीको माग अनुसार प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने ती राजदूतको दवाव रहेछ । एउटा मित्र राष्ट्रमा सरकार कसको हुने र प्रधानमन्त्री को हुने जस्ता विषयमा समेत बाहिरियाको आग्रहरुपी दवाव आउनु कूटनीतिक मर्यादा उलंघनको पराकाष्ठा हो ।

हाम्रो अर्को मित्र राष्ट्र नर्वेका राजदूतले हाम्रा राजनीतिक शक्तिहरुलाई सहमतिमा ल्याउने 'प्रयाश' गरे । विभिन्न दल र पक्षका उच्च नेताहरुलाई आफ्नै निबासमा डाकेर नर्वेजियन राजदूतले 'यसो गरी सहमतिमा पुग्नोस्' भन्ने 'सुझाव' दिएको कुरा सार्वजनिक भयो । र यसलाई हाम्रा नेताहरुले स्वभाविक रुपमा लिएको पाइयो । विदेशीको निर्देशन अनुरुप चल्ने बानी भएर होला, 'उच्च' नेताहरु विदेशी राजदूतको निबासमा धाउन र उनीहरुका इच्छा अनुसार चल्न अप्ठ्यारो मान्दैनन् । तर आम नेपाली नागरिक तथा बुद्धि भएकाहरुका लागि भने यो अत्यन्त अपमानजनक व्यबहार हो ।

फ्रान्स र नर्वेका राजदूतहरु मात्र यस्तो 'हस्तक्षेप' गरिराखेका छैनन् । नेपालमा चासो राख्ने र यहाँ आफ्नो स्वार्थ भएका, केही अपबाद बाहेक, सबैजसो विदेशीहरु अशोभनीय गतिविधि गरिराखेका छन् । २०६२–२०६३ को राजनीतिक परिवर्तन पछि बाहिरी हस्तक्षेप तीव्र गतिमा बढेको हो । यो झन् भन्दा झन् विभत्स रुपमा बिस्तार हुँदै गएको देखिँदैछ ।

मलाई भारतका प्रधानमन्त्रीले हाम्रो समर्थन रहनेछ भनेका छन् भनेर केही समय अघि हाम्रा प्रधानमन्त्रीले सार्वजनिक रुपमा भने । आफ्नै प्रधानमन्त्रीत्वमा नेपालले नयाँ संविधान बनाएर जारी गर्ने र त्यसका लागि भारतको सहयोग तपाईँलाई रहने छ भनेर भारतीय प्रधानमन्त्री मनमोहन सिँहले आश्वासन दिएको जानकारी माधबकुमार नेपालले गर्वका साथ सुनाएका थिए, नेपाली नागरिकहरुलाई ।

नेपालको शासन कसरी चल्ने, कसले के गर्ने भन्ने बारेमा विदेशीको सहयोग पाउँदा गर्व गर्ने प्रधानमन्त्री पाउनु, र त्यो प्रवृत्तिलाई राम्रो ठहर्याएर आश्वस्त हुने राजनीतिक दलहरु पाउनु नेपाल राष्ट्र तथा नेपाली जनताका लागि दुर्भाग्य हो ।

विदेशी राजदूतहरुले मन्त्रीहरु लगायत प्रधानमन्त्री सम्मलाई जुन बेला मन लाग्यो भेट्ने क्रम त यति धेरै बढेको छ कि केही सञ्चार माध्यमले त 'प्रधानमन्त्रीको शयन कक्षमा विदेशी राजदूत' भनेर समेत लेखे । मर्यादाको समेत ख्याल नराखेर 'उच्च' नेताहरु विदेशी राजदूताबास धाउने र आफ्ना पक्षमा 'लबिङ्ग' गर्ने चलन पनि 'लोकतन्त्र' कालमै व्यापक भएको हो । 'यस अघि सात पटक आइसकेँ, यसपाली चाहिँ एम्बुसमा परेँ' भन्दा शरम नमान्ने नेता पाउनु अर्को दुर्भाग्य हो नेपालीका लागि ।

धर्म परिवर्तन गर्न पाउने कानून बनाउन युरोपेलीहरुले नेपाल सरकारलाई दवाव दिइराखेको कुरा त सार्वजनिक जानकारीमै छ । अझ अघि बढेर नयाँ बन्ने संविधानमा समेत धर्म परिवर्तन गर्न/गराउन पाउने प्राबधान राख्न युरोपेली राजदूतहरुका साथै संयुक्त राष्ट्र संघका निकायहरु पनि लागिपरेको समाचार अखबारहरुमा आएको छ । विदेशीहरुले यसरी अनेक तरिकाले हामीलाई खटन पटन गरिराखेको सम्दर्भमा नेपाल सरकार, 'सार्वभौम' संविधानसभा र आफूलाई मुलुकको सच्चा भक्त ठान्ने राजनीतिक दल र तिनका नेताहरु चुप लागेर त्यही प्रवृत्तिलाई सहयोग पुर्याउनु दुर्भाग्य हो ।

प्रवृत्ति डरलाग्दो छ
यसबेला युरोपेली संसदको एउटा प्रतिनिधि मण्डल नेपालको भ्रमणमा छ । यी युरोपेली सांसदहरुले हाम्रा प्रधानमन्त्री लगायत विभिन्न पदाधिकारी र नेताहरुलाई भेट्ने बताइएको छ । तर यो टोलीले अनधिकृत तथा अशोभनीय गतिविधि गर्दैछ भन्ने सूचना पनि अखबारहरुले दिएका छन् । नेपाल भ्रमणमा रहेको 'युरोपेली सांसदहरुको टोलीले सोमबार दिउँसो तिब्बती शरणार्थी शिविरमा पुगेर छलफल गरेको छ' (नागरिक दैनिक, मंगलबार, जेठ ११, २०६७) । यो छलफलबारे ताल्लुकबाला परराष्ट्र मन्त्रालयलाई केही जानकारी छैन । यो समाचारमा गम्भीर पक्ष भनेको कसले, कसलाई, किन भेटेको भन्ने हो ।

हाम्रो उत्तरी छिमेकी चीनको स्वशासित क्षेत्र तिब्बतबाट भागेर नेपाल आइबसेका तिब्बतीहरुसँग युरोपेली सांसदहरुले किन भेट्नु र छलफल गर्नु पर्यो ? यस्तो भेट र छलफल नेपालको आन्तरिक मामिलामा हस्तक्षप मात्र होइन, नेपाल–चीन सम्बन्धमा समेत दूरगामी असर पार्न सक्ने गम्भीर विषय हो । तर दूर्भाग्य, यसबारेमा सरोकारबालाहरु मौन छन् ।

युरोपेली सांसदहरुको सोही टोलीले लिम्बुवान, खम्बुवानका नेताहरुलाई भेट्दैछन् भन्ने जानकारी पनि आएको छ । (नागरिक दैनिक, जेठ ११, २०६७) नेपालको राजनीतिक प्रणाली विरुद्ध विभिन्न गतिविधि गरिराखेका संगठन वा समूहलाई युरोपेली सांसदहरुले नेपालमै आएर भेट्नुको अर्थ के हुन सक्छ ? कूटनीतिक मर्यादाको कुन नियमले यसो गर्न मिल्छ ? जसले जे गरे पनि हुने यो परिपाटीले हामीलाई कहाँ पुर्याउला ? यी गतिविधिको परिणाम के हुन सक्छ भन्ने आँकलन हाम्रा नेताहरुले गरेको देखिन्न ।

चाहना भए गर्न सकिन्छ
नेपालमा 'लोकतन्त्र' का लागि आन्दोलन चलिराखेको बेला २०६३ सालको बैशाख महिनामा एक जना विदेशी राजदूतले नेपालको आन्तरिक राजनीतिकाबारेमा बोल्दा कूटनीतिक मर्यादा र सामान्य शिष्टाचार समेत उलंघन गरे । त्यसबेला नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत जेम्स् एफ. मोरियार्टीले 'यस्तै अवस्था रहे नेपालका राजाले हेलिकोप्टर चढेर भाग्नु पर्ने स्थिथि आउन सक्छ' भनेका थिए (सी.एन.एन. टेलिभिजन, बैशाख ६, २०६३) । आन्दोलनकारीहरुका लागि त अमेरिकी राजदूतको त्यो 'चेतावनी' अमृत बचन जस्तो बन्न पुग्यो, र त्यसको स्वागत् समेत भयो, एक पक्षबाट ।
तर ती राजदूतको त्यो व्यवहार र बोली कूटनीतिक मर्यादा विपरित मात्र थिएन, सामान्य शिष्टाचार विपरित पनि थियो । एउटा मित्र राष्ट्रप्रति विभत्स हस्तक्षेपको वाणी पनि थियो, त्यो भनाइ । त्यस्ता कुरालाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ, र त्यसबेलाको सरकारले लियो पनि । त्यसबेलाका परराष्ट्र मन्त्रीले राजदूतको मर्यादाक्रम मिल्ने अधिकारी मार्फत् अमेरिकी राजदूतलाई परराष्ट्र मन्त्रालयमै बोलाएर आपत्ति जनाएका थिए । र सम्बन्धित पक्ष, अमेरिकी पक्ष, बाट कूटनीतिक मर्यादा अनुरुपको उपयुक्त जबाफ प्राप्त भयो । त्यसपछिका दिनमा त्यस्ता व्यवहार दोहोरिएनन् । तर २०६२–६३ को आन्दोलनको समाप्ति र राजनीतिक परिवर्तनसंगै त्यो प्रवृत्ति अझ बिस्तारित र व्यापक बन्यो/बनाइयो ।
एउटा सार्वभौम राष्ट्रको सरकार र जनताले गर्ने व्यवहार त्यसबेलाको सरकारले गरेर देखाएको थियो, र नेपाल राष्ट्रको प्रतिष्ठा कायम राखेको थियो । यस्ता थुप्रै उदाहरण छन् इतिहासमा, नेपालीले आफ्नो स्वाभिमान उँचो राखेको । यस्ता आदर्श व्यबहारबाट अहिलेका नेताहरुले सिक्न सक्नु पर्छ । तर विदेशीको बुई चढेर उनीहरुकै निर्देशनमा हिँड्नेहरुबाट राष्ट्रको हित हुने काम होला भन्ने आशा चाहिँ कमै राख्न सकिन्छ ।

May 19, 2010

खतरनाक भिडन्ततर्फ उन्मूख स्थिति


दीपक गजुरेल

'अन्तर्राष्ट्रिय समुदायको कुनै पनि पक्षले हामीलाई सिकाउन वा निर्देशन गर्न खोजेको हो भने हामीलाई त्यो स्वीकार्य छैन । हामी नयाँ उपनिवेशी राष्ट्र बन्न चाहँदैनौँ ।' प्रधानमन्त्री माधव कुमार नेपालले एउटा विदेशी अखबारलाई अन्तरवार्ता दिँदै भनेछन्‍ । (फाइनान्सियल टाइम्स, मे १७, २०१०) । हाम्रो स्थिति कति जटिल र गम्भीर भैसकेको रहेछ भन्ने सन्देश यस उद्धरणमा पाइन्छ ।

कसले हाँकिराखेको छ ?
नेपाल र नेपाली आफ्नालागि केही गर्न नसक्ने र अर्काको निर्देशनमा हिँड्‍ने पात्र बन्न पुगेको स्पष्ट देखिँदैछ अहिले । हाम्रो निरीहपना दर्शाउने केही सन्दर्भ यस्ता छन्‍ :

  • युरोपेली युनियन सम्बद्ध राष्ट्रका राजदूतहरुले प्रधानमन्त्री नेपाललाई राजीनामा दिएर सहमतिमा आउन दवाव दिएको जानकारी सञ्चार माध्यममा आयो ।
  • युरोपियन युनियनको हालको अध्यक्ष फ्रान्सको नेपालका लागि राजदूतले नेपालमा धर्म परिवर्तन गर्ने कानूनी व्यवस्था गर्न प्रधानमन्त्री नेपाललाई लिखित 'आग्रह' रुपी दवाव दिएको तथ्य सार्वजनिक भयो । (राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा, जनभावना साप्ताहिक, जेठ ४, २०६७) ।
  • युरोपियन युनियन सम्बद्ध मुलुकका राजदूतहरुले नेपालका प्रधानमन्त्रीलाई भेटी ४८ घण्टाको समयसीमा तोकेर राजनीतिक सहमति खोज्न आदेशात्मक 'आग्रह' गरेको कुरा नेपाली अखबारहरुले केही अघि लेखे ।
  • 'वर्तमान सरकारले राजीनामा दिएर आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गरिदिन माओवादी अध्यक्षले विदेशी कूटनीतिज्ञहरुसंग आग्रह गरे ।' (राजधानी दैनिक, जेठ ४, २०६७)
  • 'सहमति नभएको अवस्थामा हामीसंग युद्धमा जानुको विकल्प छैन । यो हाम्रो वाध्यता हुनेछ,' भन्ने चेतावनी माओवादीका एकजना ठूला नेताबाट आएको छ । (कृष्णबहादुर महरा, फाइनान्सियल टाइम्स, मे १७, २०१०)
  • विदेशी शक्तिका सम्बन्धमा महराको भनाई अझ रोचक छ । 'भारत समस्या बनेको छ । भारत नेपाललाई आफ्नो नियन्त्रणमा राख्न चाहन्छ ।' (फाइनान्सियल टाइम्स, मे १७, २०१०)
  • 'माओवादीलाई माओवादी बनाउने काम पनि भारतले नै गरेको हो । माओवादी १० वर्षे जनयुद्धमा प्रत्यक्ष–परोक्ष भारतकै संरक्षणमा थियो ।' (राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा, दृष्टि साप्ताहिक, जेठ ४, २०६७)
  • नेपालको वर्तमान गतिरोध अन्त्य गर्न नेपालका निकट दुई छिमेकी चीन र भारतले रचनात्मक भूमिका खेलून्‍ भनेर नेपालका लागि अमेरिकी राजदूत डिलिसीले भने भनेर एउटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अखबारले प्रमुखताका साथ लेख्यो । (एशिया टाइम्स, मे १४, २०१०)
  • नेपालमा शान्ति र स्थिरता भएन भने त्यसले क्षेत्रीय शान्ति तथा स्थिरता समेतलाई नकारात्मक असर पार्नेछ भनेर चीनले भर्खरै नेपालमा आफ्नो चासोका बारेमा सार्वजनिक जानकारी दियो । (राजधानी दैनिक, बैशाख २९, २०६७)

नेपालमा विदेशीको स्वार्थ
नेपालको आन्तरिक राजनीतिमा विदेशी शक्ति राष्ट्रहरुको दवाव बढ्‍दो छ । हाम्रा निकट छिमेकी चीन र भारतको आफ्नै स्वार्थ छ यहाँ, भने विश्व महाशक्ति अमेरिकाको स्वार्थ फरक छ । युरोपेली राष्ट्रहरुको चाहना समेतका कारण विदेशीहरु स्वयम्‍ नेपाल मामलामा विभाजित देखिएका छन्‍, केही समय यता । यो विभाजन स्वभाविक हो, उनीहरुका परस्पर बिरोधी स्वार्थले गर्दा ।

चीन आफ्नो राष्ट्रिय सुरक्षाका कारणले, नेपालको भूराजनीतिक अवस्थितिबाट फाइदा उठाउन खोज्नेहरुप्रति बढी सचेत छ । पश्चिमाहरुले जोडदार ढंगले उठाउने गरेको 'फ्रि तिब्बत' अभियानसंग जुधेर आफ्नो सुरक्षा सुनिश्चित गर्नु चीनको प्राथमिक उद्देश्य हो, यतिबेला ।

चीन विरुद्ध नेपाली भूमि प्रयोग भैराखेको र भावि दिनमा अझ सशक्त रुपमा त्यस्ता गतिविधि अघि बढाइने स्पष्ट संकेतहरु देखिएका छन्‍ । त्यसैले आफूसंग सीमा जोडिएको र संवेदनशील अवस्थितिमा रहेको नेपालप्रति चीन सजग रहनु स्वभाविक हो । त्यही कारण, देखिने र नदेखिने अनेक गतिविधि नेपालमा भैराखेका छन्‍ । 'कसको सुझावमा प्रधानमन्त्री पदबाट राजीनामा गर्नु भयो' भनेर चीनका राष्ट्रपति हू जिन्ताओले माओवादी प्रमुखलाई सोधे भनेर सार्वजनिक जानकारीमा आएको धेरै भएको छैन ।

भारतको योजना आफ्नो प्रभाव बिस्तारमै केन्द्रित देखिन्छ, नेपालको आन्तरिक राजनीतिको सन्दर्भमा । 'नेपाल मेरो प्रभाव क्षेत्र हो, यहाँ मैले चाहेको मात्र हुनुपर्छ' भन्ने मान्यता र दावी भारतको छ । तर बदलिएको क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शक्ति समीकरणले भारतको यो दावीलाई चुनौति दिएको छ । 'नेपालको शान्ति र स्थिरताले क्षेत्रीय शान्तिलाई असर पार्ने' हुनाले ठेगानसंग चल्न सम्बन्धित, खास गरी भारत, लाई बेइजिङ्गले 'सुझाव' दिइसकेको छ ।

दक्षिण एशियामा भारतको पहिलाको प्रभूत्व समाप्त भैसकेको जानकारी चीनले मात्र दिएको छैन । विश्व महाशक्ति अमेरिकाले समेत यस सन्दर्भमा कडा जनाउ दिएको छ । 'नेपालको वर्तमान गतिरोध अन्त्य गर्न नेपालका निकट दुई छिमेकी भारत र चीनले रचनात्मक भूमिका निर्वाह गरुन्‍' भन्ने आग्रह अमेरिकी राजदूतबाट भर्खरै आएको छ । यसको स्पष्ट सन्देश भनेको नेपालमा भारतको हालीमुहाली समाप्त भएको यथार्थ भारतले स्वीकार गर्नु उपयुक्त हुन्छ भन्ने हो । साथै, यो क्षेत्रमा मेरो उपस्थिति दरो छ है, वाशिङ्गटनको चाहना र स्वार्थ विपरित कसैले चलमल नगर्नू भन्ने चेतावनी पनि हो यो, ह्वाइट हाउसबाट आएको ।

हाल देखिएका प्रतिक्रिया मात्र होइन, वाशिङ्गटनले निकै अघि देखि दक्षिण एशियाबारे आफ्नो रुचि र स्वार्थ स्पष्ट पार्दैआएको हो । 'भिजन २०२०' नामक रणनीतिक दस्तावेजमा अमेरिकाले दक्षिण एशियामा आफ्नो प्रमुख चासो र ध्यान केन्द्रित रहनेछ, आउँदा वर्षहरुमा भनेर केही वर्ष पहिले नै भनेको हो । र यही योजना अनुरुप ऊ नेपाल लगायत, यस क्षेत्रमा काम गरिराखेको छ भन्ने कुरामा शंका रहनु हुँदैन ।

नेपाल लगायत हिमालय दक्षिणको क्षेत्रमा भारतको एकल प्रभूत्व समाप्त भएको र त्यो स्थितिलाई भारतीयहरुले स्वीकार गर्नु पर्ने जनाउ वाशिङ्गटनले गत वर्ष अझ स्पष्ट रुपमा दियो । अमेरिकी राष्ट्रपति बाराक ओबामाले बेइजिङ्ग भ्रमणको समयमा कश्मिर लगायत दक्षिण एशियाका विवाद/समस्या समाधानमा चीनले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ भनेका थिए । ओवामाको त्यो भनाइप्रति भारतले तत्काल आपत्ति जनायो । तर दिल्लीको इच्छा तथा चाहनामा वाशिङ्गटन र बेइजिङ्गको योजना र रणनीति फेरिने छैन भन्ने कुरा दिल्लीका शासकहरुले पनि बुझेका छन्‍ ।

यो समग्र परिदृश्यमा भारत अर्काका लागि खनेको खाडलमा आफैँ जाकिने अवस्थामा पुगेको छ । १२ बुँदे दिल्ली सम्झौता मार्फत नेपाललाई आफ्नो छातामुनी ल्याएर सके सिक्किम बनाउने, त्यसो गर्न नसके कमसेकम भूटानको हैसियतमा ल्याउने भारतीय योजना यतिखेर धरापमा परेको छ । यो योजना अनुरुप नेपालमा गएका चार वर्षमा अनेक काम भए, गराइए ।

बन्दूक र मतपत्रलाई संगै हिँडाएर नेपालमा 'चमत्कार' गर्ने भारतको योजना कति उरण्ठेउलो र स्वैरकल्पनामा आधारित रहेछ भन्ने यसबेला स्पष्ट हुँदैगएको छ । इतिहासमा कहिल्यै नपरेको अप्रिय स्थितिमा भारत परेको छ । नेपाली सन्दर्भमा भारत अहिलेजति 'एक्सपोज' कहिल्यै भएको थिएन । विगत्‍मा को–कोसंग के–के विषयमा गोप्य सम्झौता गरेका थियौ तिमीले, कहाँ कहाँ केके जथाभावि गर्‍यौ, अब बताऊ भनेर भारतमाथि व्यापक दवाव बढेको छ, यसबेला । यस्तो दवाव त्यसै आएको छैन ।

नेपालको स्थिति
चीन, भारत, अमेरिका, युरोपियन युनियन लगायतका शक्तिहरुको दवाव नेपालमा बढ्‍दै गर्दा नेपालले के गर्न सक्छ ? आफ्नो क्षुद्र स्वार्थ पूरा गर्न राष्ट्रिय हित विपरित काम गर्ने 'लोकतान्त्रिक' र 'गणतान्त्रिक' नेताहरुले मुलुकलाई अत्यन्त कमजोर पारेका छन्‍ । कूटनीतिक क्षमता लगभग शून्यमा झारिएको छ । कसबाट के आदेश आउँछ, मलाई के फाइदा हुन्छ र सोही अनुसार काम गरुँ भनी कुरेर बस्ने हाम्रा नेताहरुले जानीजानी यो अबस्था सिर्जना गरेका हुन्‍ ।

स्थिति यति बिग्रिसक्यो कि भिडन्त नेपाली नेपालीबीच रहेन अब । विदेशी, त्यो पनि ठूला शक्तिहरु नेपाली भूमिमा एक आपसमा भिडिराखेका छन्‍ । यहाँ भिड्‍नेहरुको स्वार्थ फरक फरक मात्र छैन, एक अर्काका विपरित पनि छन्‍ । यो भिडन्त छद्‍म रुपमा भैराखेको छ । तर प्रत्यक्ष देख्न सकिने गरी समेत भिडन्त हुन थालेको छ, बिस्तारै ।

भूराजनीतिक तथा सामरिक महत्वका कारण नेपालमा आफ्नो पकड चीन, भारत, अमेरिका कसैले पनि छोड्‍नेबाला छैन । नेपालमा भिडिराखेका सबै आ–आफ्नै हिसाबले शक्तिशाली छन्‍, अन्तर्राष्ट्रिय, क्षेत्रीय सन्दर्भका साथै नेपाली परिप्रेक्षमा । हालका केही हप्ता यता यिनीहरुबीच छद्‍म युद्ध शुरु भएको संकेत मिलेको छ । एउटा पक्ष पछाडि नहटेसम्म यो भिडन्त बढ्‍दै जाने निश्चित छ । र कुनै एक पक्ष पछाडि हट्‍नु भनेको त्यो पक्ष समाप्त हुनु हो, कमसेकम भारत र चीनका लागि ।

नेपाली भूमिमा नेपाली राजनीतिक खेलाडीलाई प्रयोग गरेर छद्‍म युद्ध विभिन्न रुप र स्तरमा अझ तीव्र हुने निश्चित छ, आउँदा दिनहरुमा । यो छद्‍म युद्ध नेपालमै मात्र सिमित रहने चाहिँ होइन । यसले क्षेत्रीय स्तरमै बिस्तार पाउने छ । यद्यपि क्षेत्रीय स्तरमा हुने त्यो भिडन्तमा नेपालको सन्दर्भ देखिने गरी जोडिने छैन । तर यथार्थमा नेपाल राष्ट्र र नेपाली नागरिकले यो सबै 'उठापटक' को परिणाम भोग्नुपर्ने चाहिँ पक्का छ । यो सुन्दर, शान्त मुलुकलाई यो दुरुह अबस्थामा पुर्‍याउने काम 'नयाँ नेपाल' का सारथीहरुले गरेका हुन्‍ । र यी सारथीहरु भोलिको त्यो उथलपुथलबाट उम्कन सक्ने आशा चाहिँ नगरे हुन्छ ।