Sep 8, 2012

शान्ति सुव्यवस्थाका लागि मानवीय सुरक्षा


रतीन्द्र खत्री

बृहत् शान्ति सम्झौता गरेर शान्ति प्रक्रियामा अग्रसर नेपालले कहिलेसम्म संक्रमणकालबाट गुज्रिनुपर्ने हो भन्ने कुनै टुंगो छैन । समस्या समाधान भएर शान्ति सुव्यवस्था कायम होला भन्नुभन्दा पनि समस्या झन्झनै जटिल हुँदै जानुलाई शुभ लक्षणको रूपमा लिन सकिँदैन । एक आपसमा गाली गलोज अनि दोषारोपण गरेर मात्र समस्या समधान हुन सक्दैन । नेपालको मानवीय सुरक्षासँग जोडिएका तमाम विषय यति जटिल हुँदै गएको छ कि सही तरिकाले समयमै सम्बोधन हुन सकेन भने मुलुक असफल राष्ट्रमा परिणत हुने खतरा बढ्न थालेको छ । आमजनतामा के भ्रम देखिन्छ भने यसो वा त्यसो गरेर संविधान जारी भयो भने सबै समस्या समाधान भई हाल्छ । तर, संविधान जारी हँुदैमा समस्या समाधान हुन्छ भन्न सकिँदैन । एक किसिमले भन्दा अहिलेकै परिस्थितिमा संविधान जारी भयो भने झनै समस्या चर्केर जाने खतरा बढेर गएको छ । तसर्थ, सुजबुझका साथ गम्भीर भएर देशको समस्या समाधान हुन जरुरी देखिन आएको छ । आजको युगमा मानवीय सुरक्षा एउटा गम्भीर विषयका रूपमा देखापरेको छ । आमहालतमा प्रहरी, प्रशासन तथा सेनाको भरमा शान्ति सुरक्षा कायम भई हाल्छ भन्ने विचारले जरो गाडेको हुन्छ । वास्तवमा त्यो त मानवीय सुरक्षाको एउटा पाटो मात्र हो । मानवीय सुरक्षालाई बृहत्तर ढंगबाट हेर्दा विभिन्न पक्षहरूले प्रभाव पारेको हुन्छ । ती पक्षहरू एक आपसमा गाँसिएका पनि हुन्छन् । त्यसलाई विचार पु¥याएको अवस्थामा मात्र शान्तिको प्रत्याभूति हुन सक्ने वातावरण बन्छ ।

ती सबै पक्षहरूलाई नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने सबैजसो पक्षहरू नाजुक हालतमै भएको पाउँछांै । त्यस अवस्थामा कसरी शान्ति सम्भव होला भन्ने कुरा आफैंमा एउटा प्रश्नको रूपमा देखापरेको छ । मानवीय सुरक्षको पहिलो पक्ष भनेको आर्थिक सुरक्षा हो । नेपालको गरिबी तथा बेरोजगारीको समस्यालाई दृष्टिगत गर्ने हो भने यसको चित्र नाजुक हालतमा भएको स्पष्ट हुन्छ । बहुसंख्यक जनता निरपेक्ष गरिबीको रेखामुनि रहेको अवस्थामा कसरी आर्थिक सुरक्षाको स्थिति बलियो हुन सक्ला ? देशको अपार युवा जनशक्ति विदेश पलायन हुन परेको अवस्थामा देशको अर्थिक स्थिति कसरी बलियो हुन सक्छ ? विडम्बना त्यही बिदेसिएका जनशक्तिको रेमिट्यान्सले नै देशको अर्थतन्त्र धानिरहेको छ । यसले पनि आर्थिक अवस्था कति नाजुक हालतमा गुज्रिरहेको छ भन्ने कुरा स्वतः सिद्ध हुन्छ । ठूलो संख्यामा बेरोजगार जनशक्ति विदेशमा अल्मलिएको छ, यदि सो पनि नभई दिएको भए त्यो जनशक्ति बरोजगारीकै हालतमा अहिल्यकै अवस्थामा स्वदेशमा रहने हो भने अवस्था के हुने थियो होला ? सो जनशक्तिको दुरुपयोग हुन सक्ने प्रबल सम्भावना आफ्नै ठाउँमा छ । जसको प्रत्यक्ष असर मुलुकको शान्ति सुरक्षामा नै पर्ने निश्चित थियो । नेपालमा विभिन्न किसिमका राजनीतिक अभ्यास भए पनि आर्थिक विकासलाई जोड दिएर कुनै पनि सफल कार्यक्रम आउन नसक्नु नै आर्थिक सुरक्षाको स्थिति नाजुक हुनुको कारक तŒव हो भनेर भन्दा अत्युक्ति हुँदैन । खाद्य सुरक्षा मानवीय सुरक्षाको अर्को महŒवपूर्ण पक्ष हो । देशमा उत्पादित खाद्यान्नले आवश्यकता पूरा गर्न नसक्ने अवस्था र मुलुकको कतिपय स्थानमा हुने खाद्यान्न अभाव तथा अनिकाल पर्ने स्थिति अहिले पनि रहिरहनुले सुरक्षा चुनौती बढाइरहेको छ । यसलाई निराकरण गर्न ठोस कदम चालिएको कतै देखिँदैन । मुलुकमा अद्यापि कुपोषण, अस्वस्थ खाद्य पदार्थहरूको प्रयोग र विभिन्न किसिमका स्वस्थ्य समस्याले समग्र जनताको स्वास्थ्यमा आँच पु¥याइरहेको छ । विश्वमा हेर्ने हो भने जहाँ भोक र रोगग्रस्त छ, त्यहीँ नै विभिन्न समस्या भइरहेको देखिन्छ । तसर्थ, यस विषयलाई महŒवसाथ दिएकै हुनुपर्छ । तर, यसविपरीत नेपालको परिपे्रक्ष्यमा हेर्दा अझै पनि यससम्बन्धी समस्या ज्यूँका त्यूँ रहेको हामीले पाउँछौं । औषधि उपचारमा भएको व्यावसायिकीकरणले आम व्यक्तिलाई उपचार खर्च धान्ने मुस्किल पर्ने अवस्था आइसकेको छ । यस विषयमा समयमा नै केही नगर्ने हो भने यो समस्या अझै बढ्दै जाने बलियो सम्भावना देखिएको छ । मानवीय सुरक्षाको अर्को पक्ष वातावरणीय समस्या हो ।

विश्वमा देखापरेको जलवायु परिवर्तनको असर नेपालमा पनि देखा परिसकेको छ । जुन विषयलाई अन्तर्राष्ट्रिय पक्षले चुनौतीको रूपमा औल्याएका पनि छन् । तर, हामीले यसबारे ठोस कुनै कदम चाल्न सकेका छैनौं । त्यसको ठीकविपरीत राजनीतिक अस्थिरताको फाइदा उठाएर वन विनाश तथा प्रकृतिक सम्पदाहरूको विनाश गर्ने कामलाई बढावा दिइरहेका छौं । यही क्रम बढ्दै जाने हो भने भने भविष्यमा समस्या विकराल भएर थेग्नै नसक्ने अवस्था आउने बलियो सम्भावना देखापरेको छ । यस अतिरक्ति नेपाल प्रकृतिक प्रकोपको दृष्टिकोणले पनि अग्रपंक्तिमा रहेको विशेषज्ञहरूको भनाइ रहेको छ । प्राकृतिक प्रकोपको असर हामी जस्तै मुलुकहरूमा नै बढी भएको उदाहरण प्रशस्त छन् । राजनीतिक द्वन्द्वबाट गुज्रिरहेको अवस्थामा प्रकृतिक विपत् सामना गर्न प¥यो भने क्षति आपेक्षाकृत बढी हुन जाने कुराको पाठ क्यारबियन राष्ट्र हैटीबाट लिन सके मात्र पनि हामीले केही हदसम्म यस सुरक्षा चुनौतीको असर कम गराउन सक्ने अवस्थ रहन्थ्यो । व्यक्तिगत सुरक्षा मानवीय सुरक्षाको एउटा महŒवपूर्ण पक्ष हो । मुलुकमा विगत केही दशकदेखि बढ्दै गएको हिंसात्मक गतिविधिले व्यक्तिहरूको सुरक्षामा ठूलो प्रभाव पारेको छ । हत्या, हिंसा, बलात्कार, अपहरणजस्ता घटना बढ्दै जानुले सुरक्षा स्थितिलाई चिन्ताजनक बनाउँदै लगेको छ । यसको प्रमुख कारण राजनीतिक संरक्षकत्वमा हुने आपराधिक क्रियाकलापलाई लिन सकिन्छ । मुलुकमा दण्डहीनता बढ्नुका पछाडि पनि यही कारणले महŒवपूर्ण भूमिका खेलेको देखिन्छ । यसलाई निरुत्साहित पार्ने प्रयास खासै भएको देखिन्न । त्यस अवस्थामा शान्तिको परिकल्पना कसरी गर्न सकिन्छ ? जब अपराध र अपराधीसमक्ष प्रहरी प्रशासन लाचार बन्नुपर्ने अवस्था आउँछ तब शान्ति सुव्यवस्था स्वतः ओझेलमा पर्न जान्छ ।

मानवीय सुरक्षाको एउटा पक्ष जुन वर्तमान नेपालको सन्दर्भमा ज्यादै नै महŒवपूर्ण पक्षको रूपमा देखापरेको छ, त्यो हो समुदायको सुरक्षा । नेपालले बहुजाति, बहुसंस्कृति, बहुभाषा भएको धनी मुलुकको रूपमा परिचय बनाउँदै आएको थियोे । हिन्दू राज्य हुँदा पनि धार्मिक सहिष्णुताको अनुपम उदाहरणको रूपमा रहिआएको मुलुक थियो, नेपाल । तर, अहिले आएर कानुनी रूपमा नै यी सबै विषयमा समानताको प्रत्याभूति गरिएको भने पनि पछि एकाएक यस विषय किन जटिल बन्दै गयो भन्ने कुरा चासोको विषय बन्न गएको छ । सामाजिक सहिष्णुताको लागि आपसी ऐक्यबद्धता कुनै पनि मुलुकका लागि अति आवश्यकीय विषय हो । यसमा खलल पुग्यो भने नतिजा अत्यन्तै प्रत्युत्पादक हुनुको साथै विकराल समस्याको कारकतŒव बन्न जाने कुरालाई सबैले बुझ्न जरुरी छ । यस विषयमा सामाजिक समुदायको प्रतिनिधित्व गर्ने अगुवाहरूले त संवेदनशील हुनु नै पर्दछ । त्योभन्दा पनि बढी राजनीतिक नेतृत्वले अझै गम्भीर हुन अत्यन्तै जरुरी छ । आफ्नो क्षणिक राजनीतिक स्वार्थलाई त्यागेर मुलुकको बृहत्तर स्वार्थमा लाग्ने राजनीतिक नेतृत्वको कमी भएर पनि यो समस्या बढ्न गएको हो । हाल मुलुकमा मानवीय सुरक्षाको प्रत्याभूति हुन नसक्नुमा राजनीतिक सुरक्षाले प्रमुख स्थान ओगटेको छ ।राजनीतिक अस्थिरता रहुन्जेल कुनै पनि समस्या समाधान हुन गाह्रो पर्छ । राजनीतिक समस्या भन्नाले आन्तरिक रूपमा राजनीतिक नै हुन्छ भने बाह्य रूपमा कूटनीतिक सुरक्षा पनि यसैको दायराभित्र पर्न आउँछ । जब राजनीतिक सुरक्षा आन्तरिक रूपमा कमजोर हुन्छ, तब बाह्य पक्षहरूको स्वार्थ पनि संगसंगै बढ्न थाल्छ । खासगरी हामी जस्तो विशाल छिमेकीहरूका बीचमा चेपुवामा परेको मुलुकले यस विषयलाई बडो संवेदनशील ढंगले हेर्न जरुरी हुन्छ ।

राजनीतिमा विचारको द्वन्द्व हुनु कुनै अस्वाभाविक कुरा होइन तर त्यसको निष्कर्ष जहिले पनि सकारात्मक हुनुपर्छ तब मात्र त्यो प्रजातान्त्रिक कदम कहलाउन सक्छ । आजको युगमा अधिनायकवादी नेतृत्वविरुद्ध प्रजातान्त्रिक नेतृत्वको कुरा गरिन्छ । तर, प्रजातान्त्रिक खोल ओडेर अधिनायकवादी कदम कसैले उठाउँछ भने त्यो बढी प्रत्युत्पादक हुनेमा दुई मत हुन सक्दैन । सायद मुलुक आजको अवस्थामा आउनुमा यो पनि एउटा कारण हो भनेर भन्दा फरक नपर्ला । अन्तमा, एक पटक हामीले नेपालको परिप्रेक्ष्यमा यी मानवीय सुरक्षाका विविध पक्षलाई दाँजेर हे¥यौं भने सबै पक्षहरू कमजोर भएको पाउँछौं । कमजोर सुरक्षा स्थितिमा दिगो शान्ति कसरी सम्भव होला त ? हुन त यी सबै पक्षहरू अविकसित मुलुकको विशेषताझैं देखापरेको छ । बुद्धिमानीहरूले यसबाट पार पाउन भरसक कोसिस गरेर समृद्धिको बाटोमा लागेका छन् भने अविवेकशीलले हठ र अहंकारमा रुमलिँदै जनता, समग्र मुलुकको साथै आफू स्वयंलाई समेत डुबाएका छन् ।

(लेखक नेपाली सेनाका पूर्व महासेनानी हुन् ।)
साभार : राजधानी दैनिक

No comments:

Post a Comment