युवराज गौतम
राजनीतिक दलहरू असफल भएमा देश नै असफल हुने चेतावनी
दिए पनि राष्ट्रपति रामवरण यादवले राष्ट्राध्यक्ष बनेर कुनै
स्पष्ट मार्गचित्र प्रस्तुत गर्न सक्नुभएको छैन।
राष्ट्रपति र प्रधानमन्त्रीबीच बढिरहेको चिसोपन, सरकार तथा अन्य दलहरूबीचको मनोमालिन्य, सत्तारुढ र विपक्षी दलहरूको आन्तरिक कलह तथा सत्ता संघर्षको प्रदूषित वातावरण देखेर सर्वसाधारण अत्यन्त निरास बनेका छन्। तर पनि अझै धैर्यधारण गरेरै बसेका छन्।
भारतीय सेनाले नेपालको राजनीतिक अवस्थाबारे लखनऊ सहरमा हालै आयोजना गरेको बैठकमा सहभागीहरूले नेपालबारे व्यक्त गरेका विचार सञ्चारमाध्यमहरूमा आएका छन्। २०६२/६३ सालपछि देशमा देखिएको कल्पनातीत अस्थिरता, कहालीलाग्दो अन्योल, बाह्यशक्तिको अकन्टक हस्तक्षेप, घात–प्रतिघात र राष्ट्रियताप्रतिको घोर उपेक्षाका कारण सबैभन्दा बढी नेपाली जनता नै चिन्तित छन्। सार्वभौमसत्ता, एकता, अखण्डता र नेपालको अस्मितामाथि नै प्रश्न उठिरहेकाले जनता चिन्तित हुनु अस्वाभाविक होइन, तर आश्चर्यको कुरा, त्यसको दशांश पनि राजनीतिक नेताहरूका चिन्ता र गाम्भीर्य पाइँदैन। सत्तामा बस्नेहरू आजीवन सत्तामै रहन इच्छुक छन् भने विपक्षी दलहरूको पनि ध्यान सत्तामा मात्रै केन्द्रित छ।
राष्ट्रियता र दलमध्ये एउटा मात्र रोज्नुपर्दा सतप्रतिशत जनता राष्ट्रियताकै पक्षमा उभिनेछन्। जनता दलविहीन बनेर बाँच्न सक्लान्, तर राष्ट्रियताविहीन हुन सक्दैनन्। दलहरूले यसरी नै राष्ट्रियतालाई उपेक्षा गरेर विदेशीलाई खेलिरहने अनुमति दिइरहे भने जनताले कठोर निर्णय गर्न सक्छन्। त्यसै पनि राजनीतिक दलहरूले आफ्नो विश्वसनीयता गुमाइरहेका छन्। त्यसैले दलका अगुवाहरूले वस्तुपरक ढंगले जनभावनाको सम्मान गर्नैपर्छ। विदेशी शक्तिको आर्थिक सहायता, स्याबासी र समर्थन त्यतिबेला निरर्थक बन्छ, जब जनता नै टाढिन्छन्।
जनता अहिले राजनीतिक दलहरू तथा राजसंस्थाको राष्ट्रियताप्रतिको विश्वास, धारणा र प्रतिबद्धताको तुलना गर्न थालेका छन्। राष्ट्रघात गरेर विदेशीहरूसँग अपवित्र साँठगाँठ गरेको भए राजसंस्था ओझेलमा पर्ने थिएन। सत्तामा टिक्न राष्ट्रियताका आधारहरू भत्काइदिएको भए राजसंस्थामाथि विदेशीको आक्रमण हुने थिएन र दलहरूले झैं विदेशीकै सामु आत्मसमर्पण गरेको भए राजसंस्थामाथि प्रहार हुने थिएन। उदाहरणका लागि भुटानकै राजसंस्थालाई लिन सकिन्छ।
कतिपय विदेशी कूटनीतिज्ञ र विश्लेषकले माओवादी, एमाले, माले, कांग्रेसलगायतका प्रायः सबै दललाई आफूहरूले संरक्षण, सम्बर्द्धन र सम्पोषण गरेको बताउन थालेका छन्। उनीहरूले असत्य भनेका हुन् र बातकसुर गलत हो भने दलहरू बोल्नुपर्थ्यो, मुख खोल्नुपर्थ्यो। तर नेताहरू मौन बसे। फ्याट्ट बोल्दा भविष्य अँध्यारो हुने भएकाले ती भयभीत छन्। कबुलियतनामा गरिसकेपछि बोल्न गाह्रो पर्छ। त्यसैले मौन छन् उनीहरू।
सीआईएले हुर्काएका बिन लादेन अमेरिकीहरूका परम शत्रु भए। 'माई वार विथ द सीआईए' पुस्तकमा कम्बोडियाका राजा नरोद्दम सिंहानुकले लेखेका छन्– 'बौद्ध धर्मावलम्बी भएकाले मलाई सीआईएले राजगद्दीबाट च्यूत गरायो। क्रिस्चियन राजा भएको भए मैले दुर्दिन भोग्नुपर्ने थिएन।' नरोद्दम सिंहानुकझैं राष्ट्रियता, परम्परा, मूल्य–मान्यता र राष्ट्रवादप्रति दृढ रहेकै कारण राजा ज्ञानेन्द्र पनि गद्दीच्यूत भएका रहेछन् भन्ने कुरा जनताले राम्ररी बुझ्न थालेका छन्। विदेशी कूटनीतिज्ञ र विश्लेषकहरूले नै भनेका छन्– 'राजा ज्ञानेन्द्रले हामीले भनेको कुरा मानेनन्।'
नेपाली कांग्रेसका पुराना नेता गणेशकुमार शर्मा (दाङ) ले कतिपय साथीहरूलाई एउटा प्रसंग सुनाउनुभएको थियो। बीपी कोइरालालाई भारतकी तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले नेपालको प्रथम राष्ट्रपति बन्न आग्रह गर्दा बीपीले भन्नुभएछ– 'नेपालमा राजसंस्था फ्याँकेर गणतन्त्र ल्याउँदा जुन खाडल बन्छ, त्यसलाई ५० जना बीपीले पनि पुर्न सक्दैनन्। गणतन्त्रमा प्रजातन्त्र होइन, साम्यवाद मात्र फस्टाउँछ। तसर्थ यस्तो विचार त्यागिदिनुहोस्।'
सिक्किमका गणतन्त्रवादी लेण्डुप दोर्जेलाई पनि बीपीले त्यसरी नै सम्झाएको कुरा दाङका नेता बलदेव शर्मा मजगैयाँले युवराज गौतमद्वारा सम्पादित वीरेन्द्र स्मृति ग्रन्थमा 'बीपी र लेण्डुपको बहस' शीर्षकमा लेख्नुभएको छ। बीपी र लेण्डुपको बहस सुन्ने बलदेवजीसँग आजका पत्रकारहरूले थप कुरा बुझ्न सक्छन्। स्वविवेक त्यागेर परावलम्बी, पराधीन र परमुखापेक्षी बन्नेहरू आदरणीय, बन्दनीय, पूजनीय, अर्चनीय र उदाहरणीय बन्न सक्दैनन्। जनताले हृदयदेखि सम्मान गरेको भए नेपालमा गणतन्त्र स्थापना गर्न अघि सर्ने नेताहरूको सालिक बनाएर जीवित छँदै जनताले सम्मान गर्ने थिए। टेलिभिजनका पर्दामा दलका नेता देखिनासाथ छिःछिः भन्दै च्यानल बदल्नेहरूको संख्या बढ्दै गएको छ। कुनै 'प्रतिगामी षड्यन्त्र' आन्दोलन वा प्रतिक्रान्तिले यो अवस्था आएको होइन। देश हाँक्नेहरू नै दास बन्दै गएपछि यस्तो अवस्था आएको हो।
कूटनीतिज्ञहरू भन्छन्– पूर्वी टिमोर, जर्जिया, लेबनान, साइप्रस, कोसोभो, पश्चिम सहारा, सियरालिओन, लाइबेरिया, आइभोरी कोस्ट, कंगो, इथियोपिया, इरिटि्रया र इराक आदि दर्जनौं देशका जनता आपसमा मिलेरै बसेका थिए। ती देशका नेतालाई 'दास' बनाएर साम्राज्यवाद र उपनिवेशवादका एजेन्ट बनाउन थालेपछि हरेक ठाउँमा राष्ट्रवादी र राष्ट्रघातीहरूको लडाइँ सुरु भयो। नेपालमा पनि जात, धर्म, सम्प्रदाय र जातीयताका नाममा त्यस्तै गृहयुद्ध चर्काउने षड्यन्त्र गरिँदैछ। राजनीतिक नेतृत्व तहमा बस्नेहरूले राष्ट्रवादको अर्थ बुझ्न नसक्दा नेपाल अभूतपूर्व संकटमा फसेको हो। स्थापित मूल्य–मान्यताहरू परित्याग गरेर विदेशीका एजेन्डामा हिँड्दा दलहरू त संकटमा परिसके, देशलाई समेत संकटमा पारेका छन्। तर आत्मसमीक्षा, आत्ममूल्यांकन, आत्मनिरीक्षण र आत्मपरीक्षण गर्न उनीहरू तयार देखिँदैनन्। जनतासँग देशप्रेमको कुरा गर्ने र विदेशीसामु नतमस्तक भएर विदेश प्रेम देखाउने ठिमाहा चिन्तन त्यागेर उनीहरूले सही मार्ग पहिल्याउन सके भने सहजै राजनीतिक संकट समाधान हुन सक्छ। नत्र हामी द्वन्द्वको आगोमै जलिरहने छौं।
साभार : तरुण साप्ताहिक
No comments:
Post a Comment