गोपाल खनाल
प्रचण्ड माओवादी विस्तारित बैठकमा लागिरहँदा मोहन वैद्य उत्तर छिमेक चीनको भ्रमणमा छन् । सतहमा हेर्दा वैद्यको चीन भ्रमणसंग प्रचण्ड 'प्लेनम'को तादात्म्यता देखिंदैन । तर प्लेनममा प्रचण्डद्धारा प्रस्तुत ४० पेजको प्रतिवेदनमा देखिने राष्ट्रियता र वैद्यको चीन भ्रमणमा देखिएको राष्ट्रियता संयोगमात्र होइन, ती योजनाबद्ध हुन् । 'पार्टी र क्रान्तिका अगाडि उत्पन्न संकट र सर्वहारा वर्गको ऐतिहासिक कार्यभार' शीर्षकको प्रतिवेदनमा प्रचण्डले राष्ट्रियतासम्बन्धी नीतिलाई दुई वाक्यमा खुम्च्याएका छन् । अत्यन्तै महत्वहीन प्रचण्ड प्रतिवेदनमा सीमा समस्या, सन् १९५० लगायतका असमान सन्धि-सम्झौताजस्ता संवेदनशील मुद्दामा ठोस कूटनीतिक पहल बढाउने उल्लेख छ भने वैदेशिक हस्तक्षेप, दबाब, अतिक्रमण र असमान सन्धि-सम्झौताबाट देशलाई मुक्त गर्नु पार्टीको आधारभूत नीति रहेको बताइएको छ । अर्थात थप लेख्दा भारत रिसाउला भन्ने त्रासमा प्रचण्ड देखिन्छन् । संभवतः नारायणकाजीले त्यसतर्फ संकेत गर्दै राष्ट्रियतामा फरक मत राखे ।
४० बुँदाभित्र राष्ट्रियताका अडानमध्ये कतिपय असान्दर्भिक वा अति राष्ट्रवादी भएको ठान्न सकिन्छ । तर सन् १९५० को सन्धि, महाकाली सन्धि, सीमा समस्याबारे पूर्ववत् अडानबाट माओवादी किन पछि हट्यो ? पाँच वर्षको बीचमा द्धिपक्षीय सम्बन्धमा त्यस्तो तात्विक परिवर्तन के आयो र प्रचण्ड माओवादी अचानक भारत विरोधी राष्ट्रवादबाट भारतीय राष्ट्रवादमा रुपान्तरित भयो ? चित्त बुझ्दो जवाफ नागरिकले पाउनुपर्छ । भारतीय 'विस्तारवाद' र अमेरिकी 'साम्राज्यवाद'को विरोधमा राष्ट्रवादी आन्दोलन उराल्ने र आधारभूत परिवर्तन नआउँदै 'विस्तारवाद'को सच्चा 'प्रवक्ता' र हिमायती हुने प्रचण्ड-बाबुराम 'राष्ट्रवाद'लाई के संज्ञा दिने ?
प्रचण्ड-बाबुरामको राष्ट्रवाद यसअघि बिभिन्न घटनामा विभाजित रुपमा छताछुल्ल भयो । सार्वजनिक घटनाक्रम हेर्ने हो भने संविधानसभाको निर्वाचनदेखि प्रधानमन्त्री हुंँदासम्म माओवादी राष्ट्रियताले 'यु-टर्न' लियो । जनयुद्धकालीन माओवादी र शान्ति प्रक्रियामा आएको माओवादीमा फरक अवश्य हुन्छ, तर हठात् राष्ट्रियता र राष्ट्रिय स्वाधीनताजस्ता स्थायी प्रकृतिका एजेन्डामा 'क्रान्तिकारी छलाङ' मारिंदैन । यतिसम्म कि प्रचण्डलाई प्रधानमन्त्री बनाउन भारतीय राजनीतिक नेतृत्व प्रधानमन्त्री निवास ७ रेसकोर्स रोडसम्म डेलिगेसन गयो । ठूलो दलका नेता भएको हैसियतमा प्रचण्ड प्रधानमन्त्री बन्नुपर्छ भन्ने भारतीय दलको चाहना स्वाभाविक हो । तर त्यसका लागि दक्षिण एसियाका 'महान नेता'को संज्ञा पाएका गिरिजाप्रसाद कोइराला विरुद्ध नयाँदिल्लीमै लबिङ हुनु स्वाभाविक थिएन ।
त्यतिमात्र होइन, प्रधानमन्त्री भएपछि प्रचण्डलाई भारतले 'रेडकार्पेट' स्वागत गर्यो भने 'राजनेता' पगरीसमेत गुथायो । त्यसको भित्री कारण त्यसबेला थाहा थिएन, तर प्रचण्डले सन् १९५० को सन्धि खारेज गर्नुपर्ने काठमाडौंको अडान विपरीत हैदरावाद हाउसमा पुनरावलोकन गरेमात्र हुनेजस्ता लचकता अपनाए भने महाकालीको राष्ट्रघात त्यहाँ गायब भयो । उल्टै पञ्चेश्वरलाई अघि बढाउन सहमति दिए, तर सार्वजनिक नगर्ने सर्तमा । अर्थात कुनै पनि अर्थमा कांग्रेस र एमालेभन्दा भारतसँगको नीति र राष्ट्रियतामा माओवादी फरक देखिएन । तर भित्र 'भारतभक्त' बाहिर भारत विरोधीको छवि बनाएर नागरिकलाई गुमराहमा पार्ने काम प्रचण्ड-बाुबरामले गरे, कम्तीमा कंग्रेस-एमालेले गरेनन् ।
संभवतः भारतले माओवादीको दोहोरो मापदण्ड थाहा पायो वा सबैभन्दा ठूलो उदार लोकतन्त्रमा धब्बा लाग्ने भएर हो, प्रधानसेनापति प्रकरणमा नयाँदिल्ली प्रचण्ड विरुद्ध खुलेर आयो । त्यसबेला भारतले त्यो कार्यान्वयन हुन नदिन राष्ट्रपतिकहाँ सन्देश पुर्यायो, जसको घरेलु नेतृत्व १८ दलले लिए र अन्ततः राष्ट्रपतिले गलत नियतले चालिएको तर संवैधानिक कदमको अनुमोदन नगरेपछि प्रचण्ड अचानक सत्ताच्युत भए । जसरी सत्तात्युत भए, त्यसरी नै राष्ट्रियता र राष्ट्रवादको आँधीबेहरी प्रचण्डले उचाले, सीमा मार्चपास गरे, वीरेन्द्र र मदन भण्डारीलाई आदर्श ठान्दै तिनको हत्यामा पनि भारतको हात देखे । एकछिन अघिको मित्र एकैछिन पछि प्रधान शत्रुमा बदलियो । यस्ता हर्कतको भित्री पाटो थाहा भएन, तर ठानियो प्रचण्ड विदेशी सामु झुक्दैनन् ।
तर फेरि उल्टो भयो । नयाँबानेश्वरको सडकबाट उरालेको मालिक-नोकरको संज्ञा र राष्ट्रवाद लैनचौरमा पुगेर समाप्त भयो । सत्ता पाउने नाममा प्रचण्ड-बाबुरामले फेरि नयाँदिल्लीसँग सम्झौता गरे । त्यस बीचमा बाबुरामले समेत प्रचण्डलाई उछिनेर भारतीय समर्थनमा प्रधानमन्त्री हत्याउने आभाष पाएपछि दुईबीच फुट पनि आयो । प्रचण्डले भट्टराईलाई भारतीय 'एजेन्ट'का रुपमा फेरि सार्वजनिक गरिदिए । तर शान्ति संविधानको यात्रा र प्रचण्ड राष्ट्रपति हुने आश्वासनमा गठबन्धन बन्यो र त्यो जारी छ । यस बीचमा भारतलाई अर्को त्रास पनि भयो कि प्रचण्ड चिनियाँ शिविरमा पुग्लान् भन्ने । किनकि कृष्णबहादुर महरामार्फत प्रचण्डलाई प्रधानमन्त्री बनाउन ५० करोडको माग गरिएको टेप सार्वजनिक भएको थियो र बिस्तारै चीनले प्रचण्डलाई अन्य बिभिन्न च्यानलमार्फत परीक्षणमा राखेको थियो । त्यतिमात्र होइन, गोप्य रुपमा माओवादी लडाकुले चीन भ्रमणसमेत गरे । भारतलाई शत्रु घोषणा गरेपछि चीनतिर लहसिएका प्रचण्डले भारतविना केही गर्न सकिंदैन भनेर अचानक फरक धार समाते, जसका सहजकर्ता बाबुराम बने । त्यस अर्थमा पनि प्रचण्डलाई चिनियाँ क्याम्पबाट जानबाट रोक्नु नयाँदिल्लीको योजना थियो । र रोक्यो पनि ।
यी घटना विशेषसँग जोडिएका राष्ट्रवादका 'नक्कली' नमुना थिए । यत्तिकै आधारमा उनीहरूलाई राष्ट्रद्रोही प्रमाणित गर्न मिल्दैनथ्यो पनि । तर प्रचण्ड-बाबुराम वास्तवमै 'राष्ट्रघाती' थिए र उनीहरूका भारत विरोधी उग्र एजेन्डा फगत सत्तामा पुग्ने भर्याङमात्र थिए भन्ने यथार्थको खुलासा भर्खरै भएको छ । त्यो पनि उनीहरूकै हितैषी भारतीय प्राध्यापक एसडी मुनीबाट । त्यत्तिकै आश्चर्यजनक खुलासा के हो भने बाबुरामलाई मात्र भारतीय एजेन्टको एकोहोरो प्रचार गर्ने प्रचण्ड स्वयम भारतीय एजेन्ट हुन् भन्ने प्रमाण लेखकले दिएका छन् ।
मुनीले 'नेपाल इन ट्रान्जिसन' भन्ने पुस्तकको 'ब्रिगिङ दि माओइष्ट डाउन फ्रम दि हिल्स : इन्डियास् रोल' शीर्षक लेखको ३२०-२१ पृष्ठमा बाबुराममात्र नभएर प्रचण्ड पनि भारतीय निर्देशित रहेको पुष्टि गरेका छन् । पुस्तकका अनुसार, जनयुद्धकालमै प्रचण्ड र बाबुरामले भारतीय महत्वपूर्ण चासोलाई हानि हुने कुनै काम नगर्ने लिखित प्रतिबद्धता प्रधानमन्त्री कार्यालयमा बुझाएर त्यहाँको 'इन्टेलिजेन्स' र 'रअ'सँग नियमित संवाद गरेका हुन् ।
त्यहाँ उनले लेखेका छन्- 'क्रान्तिकारी आलंकारद्धारा सुसज्जित माओवादीद्वय प्रचण्ड र बाबुरामद्धारा लेखिएको पत्रमा भारतीय नेताहरूलाई आश्वस्त पारिएको छ कि उनीहरू भारतसँग सबैभन्दा असल सम्बन्ध चाहन्छन् र भारतको 'क्रिटिकल इन्टे्रष्ट'लाई हानि हुने कुनै काम गर्ने छैनन् ।' मुनीका अनुसार, यो भारतीय प्रधानमन्त्रीको कार्यालयलाई सन् २००२ जूनमा लेखिएको पत्र हो ।
अमेरिका र भारतको भित्री असहजता र नेपाली सेनाप्रतिको बढ्दो अन्तर्राष्ट्रिय सहयोगबाट जनयुद्धलाई अप्ठ्यारो पर्ने महसुस गर्दै सन् २००२ को सुरुतिर भट्टराईमार्फत माओवादी भारतीय सम्पर्कमा पुगेको तर भारतीय नेताले भेट्न इच्छा नदेखाएको उल्लेख छ । त्यसबेला भट्टराईका जेएनयुका साथी सीताराम यचुरी, डीपी त्रिपाठी, दिग्विजय सिंह लगायत भारतीय नेताले उनलाई भेट्ने इच्छा देखाएनन् भने आईके गुजरालदेखि कंग्रेस र समाजवादीका जुनियर नेताले समेत भेट्न मानेनन् । किनभने आतंककारीको बिल्ला र भारत विरोधी चर्को नीतिका कारण उनीहरू भारतीय राजनीतिक वर्गका लागि अछूतजस्ता थिए ।
मुनी लेख्छन्- तर जब माओवादीले आफ्नो मुद्दा राख्ने अवसर दिन आग्रह गर्यो, भारतीय प्रधानमन्त्रीसमक्ष पुर्याइयो, जसमा उनीहरूलाई लिखित पत्र लेख्न लगाइयो । यो पत्रको जवाफ केही महिनापछि माओवादीले पाए, जसअनुसार इन्टेलिजेन्सले माओवादी प्रतिनिधिसँग वार्ता गर्यो । यसको निरन्तरता माओवादी र 'रअ'का अधिकारीबीचको भेटवार्ताबाट भयो ।' 'रअ'का प्रमुख हर्मिज थारकन र भट्टराई बीचको असल व्यक्तिगत सम्बन्धले पनि माओवादी र 'रअ'बीच एकअर्कालाई बुझ्न सहजकर्ताको काम गरेको उनले लेखेका छन् ।
मुनीको आलेखमा यस्ता थुप्रै प्रसंग छन्, जहाँबाट माओवादी अझ खासगरी प्रचण्ड-बाबुरामको भारतीय झुकाव प्रमाणित हुन्छ । नेपाली राजनीतिमा प्रचण्ड-बाबुराम र भारतसँग जोडिएका जति पनि मुद्दा छन्, ती सबै नेपाली राष्ट्रियता होइन, भारतीय स्वार्थ अनुकूल हुनेगरी गरिएका हुन् भन्ने अब प्रमाणित भएको छ । प्रचण्डको अहिलेको राजनीतिक प्रतिवेदनमा काजीले भनेजस्तो राष्ट्रियताको मुद्दा नआउनुको सम्बन्ध यो पूर्वगोप्य सहमतिसँग खोजिनुपर्छ । अहिले प्रधानसेनापति प्रकरणमा गल्ती भएको भन्नुको अर्थ भारतलाई धोका नदिनुपथ्र्यो भन्ने देखिन्छ ।
तुलनात्मक रुपमा प्रचण्ड-बाबुरामभन्दा वैद्य-बादलको नक्कली राष्ट्रवाद सार्वजनिक भएको छैन, यद्यपि चर्को र अति राष्ट्रवाद पनि उचित होइन । तर अब वैद्य पनि बिस्तारै सार्वजनिक हुनेछन् । वैद्यको उत्तरतिरको यात्रा त्यसतर्फको प्रस्थानबिन्दु हो । विभाजनपछि वैद्यपक्षले जसरी राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यता पाएका छन्, ती प्रचण्ड-भट्टराई निहित स्वार्थी एजेन्डाकै परिणाम हुन् । तर तिनले उनको राष्ट्रवादलाई पनि छताछुल्ल पार्नेछ । राष्ट्रपति रामवरण यादवदेखि दक्षिण एसिया हेर्ने चिनियाँ उपमन्त्री आइपिङसम्मले वैद्यलाई महत्व दिएर भेटवार्ता गर्नुको घरेलु राजनीतिक अर्थ प्रचण्ड-भट्टराई विरोधी कार्ड हो भने चीनका लागि भारत विरोधी कार्ड हो । भारतको चर्को विरोधका नाममा वैद्य 'चिनियाँ' माओवादी बन्न उद्यत देखिन्छन्, जबकि प्रचण्ड-बाबुराम 'भारतीय' माओवादी प्रमाणित भइसकेका छन् । राष्ट्रियता बारेमा माओवादीको अडानबारे अझै भ्रम पाल्नुभन्दा मूखर्ता केही हुनुहुँदैन ।
साभार : कान्तिपुर दैनिक, २०६९ श्रावण ५
No comments:
Post a Comment