अरुण ज्ञवाली
भैरहवा, १९ असार : पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानसभा विघटन भएपछि जनताले अर्को शक्तिका रूपमा राजसंस्थालाई चाहेको दाबी गरेका छन्।
भैरहवास्थित होटेल निर्माणामा मंगलबार साँझ पत्रकारसँग कुरा गर्दै ज्ञानेन्द्रले आफूले दरबार
छाडेको पाँच वर्षमा जनताले धेरै
दु:खकष्ट भोगेको बताए। त्यसैले जनताले अर्को शक्तिका रूपमा राजसंस्थाको आवश्यकता महसुस गरेको आफूले पाएको उनको भनाइ थियो।
'मैले
भ्रमणका क्रममा नेपाली जनताले धेरै
दु:खकष्ट पाएको महसुस गरें, ज्ञानेन्द्रले भने, 'केही न
केही भूमिका हाम्रो खोजेका रहेछन् नेपाली जनताले, त्यसबारेमा हामी विचार गर्नेछौं, अहिले जनता निराश छन्।
उनी राजनीतिक दलप्रति
आक्रोशित देखिन्थे। ज्ञानेन्द्रले भने, 'केही समय
धैर्य गर्नैपर्छ, हाम्रा पनि केही नमिठा कुराहरू छन्, अहिलेलाई नभनौं, त्यो परिवर्तनले देखाउला।
विविधतायुक्त नेपाली समाजमा जातजाति लडाउनु-भिडाउनु विडम्बना
भएको बताउँदै ज्ञानेन्द्रले
भने, 'एउटै मालामा गाँसिएका हामी नेपाली जातजातिको कुरा गरेर आफैंलाई नराम्रो खाडलमा
पार्दैछौं, यो राम्रो कुरा होइन। हाम्रो देशमा एकता कायम राख्नुपर्छ, हामी नेपाली सबैको मान्यता त्यही हो। एउटा जीवन्त
राष्ट्रभित्र विभिन्न जनजाति, वर्ग, धर्म र संस्कृति हुन्छन्।
आफ्नो भ्रमणमा 'राजा
आऊ देश बचाऊ भनेर सबैले नारा लगाए पनि
यस विषयमा अझै विवेक र एकता खाँचो रहेको उनले बताए। ज्ञानेन्द्रले यस सम्बन्धमा
निर्णय गर्ने अधिकार नेपाली
जनतामा रहेको पनि
बताए। उनले भने, 'अब देशमा एउटा कुनै न कुनै शक्तिको उदय हुनैपर्छ, त्यो परम्परागत शक्ति पनि हुन सक्छ वा अन्य कुनै शक्ति । राजतन्त्रका विषयमा जनमतसंग्रह आवश्यक छ?
भन्ने प्रश्नमा
उनले जनमतसंग्रह होइन जनताको मन बुझ्नुपर्ने बताए। २०६२/०६३ को जनआन्दोलनपछि राजसंस्थाबारे लिखित
सम्झौता भएको दाबी
गर्दै ज्ञानेन्द्रले भने, 'त्यो सम्झौता के थियो समयले बताउँछ।
उनले बारम्बार सहमतिको रटान लगाएर केही पनि नहुने भन्दै दलहरूप्रति व्यंग्य
गरे। 'पाँच वर्षअघि राजदरबार छोड्दा मैले
मलाई मेरो देशको माया
छ, म नेपालमै बसेर मातृभूमि र शान्तिका लागि योगदान पु:याउँछु भनेको थिएँ, ज्ञानेन्द्रले भने, 'पाँच वर्षपछि आएर हेर्दा मेरो राष्ट्रवादी भावना सधैं निराशाजनक भयो,
त्यसले नेपाली
जनतामा आक्रोश र निराशा पैदा गर्यो। यसमा पनि म ज्यादै चिन्तित छु।
देशका धेरै ठाउँ,
गाउँ र कन्दरामा गएर नेपाली जनतासँग भेट गर्दा
उनीहरूले राष्ट्रवादी सोच राखेको आफूले पाएको पनि ज्ञानेन्द्रले बताए। उनले भने, 'त्यो सोच र सदाशयता राष्ट्रियताको भावना कहिले पनि तल भएन, त्यसैले नेपाली जनतामा धेरै आक्रोश र निराशा छ, त्यसलाई हामीले पनि बुझ्नु जरुरी छ।
ज्ञानेन्द्र लुम्बिनी अञ्चलका रूपन्देही, नवलपरासी तथा कपिलवस्तुका प्रसिद्ध मन्दिरहरूमा पूजापाठका लागि आइतबार यसतर्फ आएका हुन्। उनले बुटवल नयाँगाउँस्थित
मुक्तिनाथधाम, गणेश मन्दिर र मर्चवार माईमा
पूजापाठ गरे। उनले बुधबार परासी पाल्ही भगवती मन्दिर र भैरहवास्थित अन्नपूर्ण दुर्गा
मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम छ। ज्ञानेन्द्र बिहीबार राजधानी फर्कनेछन्।
साभार: अन्नपूर्ण पोष्ट दैनिक
No comments:
Post a Comment