Jun 17, 2012

कतिचोटि कुरा फेर्न सक्छन् प्रचण्ड ?


देवप्रकाश त्रिपाठी

विकासोन्मुख देशका राजनीतिकर्मीहरूप्रति जनधारणा सम्माजनक भरोसायोग्य देखिँदैन उनीहरूको प्राथमिकतामा सदैव देश जनता होइन, सत्ता मात्र पर्छ भन्ने जनविश्वास रहेको पाइन्छ जनता राजनीतिकर्मीका कुरामा किन भरोसा राख्दैनन् भने उनीहरू सधैँ झुटो मात्र बोल्छन् भन्ने आममान्यता

सबै राजनीतिकर्मी अयोग्य अविश्वासी अवश्य छैनन् तर सत्ता केन्द्रको वरिपरि निर्णायक तहमा पुगेका केही सीमित नेताको व्यवहारका कारण आमराजनीतिकर्मीको छवि धमिलिएको राजनीतिकर्मी भन्नेबित्तिकै एउटा कुख्यात अविश्वसनीय छवि जनताको मानसपटलमा उत्पन्न हुने गर्छ, नेपाली राजनीतिमा प्रचण्डको उदयपश्चात् राजनीतिकर्मीको छवि थप धुमिल हुन पुगेको त्यसो हुनुमा केही कारण देखिएका छन्

(क) ०४६ सालको राजनीतिक परिवर्तनपश्चात् मुलुक सञ्चालनको जिम्मा जनप्रतिनिधिको हातमा आएको थियो र देशले अनपेक्षित किसिमबाट स्थिरता र समृद्धिको मार्ग पछ्याउन थालेको थियो । जनतालाई विश्वासमा लिएर शासनसत्ताको मालिक हुन पाउने अवसर हरकोही नेपालीलाई उपलब्ध थियो । तर, प्रचण्डले जनविश्वास आर्जन गर्नतिर नलागी हिंसा र आतङ्कको बलमा राज्यसत्ताको स्थायी मालिक बन्ने मार्ग अवलम्बन गरे । प्रजातन्त्रले स्थायित्व प्राप्त नगर्दै उन्नतस्तरको प्रजातन्त्र स्थापना गर्ने सपना देखाएर प्रचण्डहरूले सुरु गरेको हिंसात्मक युद्धको परिणाम मुलुकले यतिबेला व्यहोरिरहेको छ । उनले नेपाली जनतालाई देखाएको सपना एउटा गहिरो झुट र बेइमानीबाहेक केही नभएको तथ्यहरूले पुष्टि गरिरहेको छ ।

(ख) कम्युनिस्टहरू सर्वसाधारण जनताका स्थायी र भरपर्दा मित्र हुन् भन्ने ठम्याइ कतिपय नेपालीको थियो । जनयुद्धका नाममा जनताकै घाँटी रेटेर प्रचण्डले कम्युनिस्ट भनेको जनताका साथी हुन् भन्नेमा शङ्का गर्नुपर्ने अवस्था पैदा गरिदिएका छन् । कथित जनयुद्धका नाममा दशौँ हजार गरिब नेपालीले ज्यान गुमाउनुपरेको घटनासन्दर्भलाई केलाउने हो भने माओवादी कम्युनिस्टलाई जनताको मित्र मान्न निष्पक्ष मानिस कोही तयार हुने छैनन् ।

(ग) प्रजातन्त्रकालका सरकार तथा उपल्लो तहमा रहेका नेताहरू विदेशीबाट सञ्चालित भएको आरोप प्रचण्डहरूले लगाउने गर्थे । ०५२ सालमा भूमिगत भई हिंसात्मक युद्धमा सरिक हुनुअघि सरकारसमक्ष पेस गरिएको चालीससूत्रीय मागमध्ये नौवटा विदेशीसँग सम्बन्धित थिए । उनीहरूले उठाएका मागहरू हेर्दा लाग्थ्योप्रचण्डहरूबराबर देशभक्त यहाँ कोही छैनन् । तर, राजनीतिको उपल्लो तहमा प्रचण्डहरू पुगेपछि तिनको कथनी र करनीमा आकाशजमिनको अन्तर देखिएको छ । विदेशीको इच्छा र निर्देशनलाई सर्वोपरि तुल्याउने अभ्यास प्रचण्डबाबुरामहरूले गरेका छन् । प्रचण्डहरूको उदयपश्चात् राष्ट्रिय राजनीतिमा विदेशीहरूको अतुलनीय ढङ्गले हस्तक्षेप बढेको छ । देशको अखण्डतामा चुनौती आइलागेको छ, सार्वभौमिकता थप दुर्बल र रुग्ण भएको छ, राष्ट्रिय एकतामा आँच पुगेको छ । दार्शनिक दृष्टिकोणले प्रचण्डहरू देशभक्त थिएनन् र माक्र्सवाद, लेनिनवाद र माओवादलाई मार्गदर्शक सिद्धान्त बनाइन्जेलसम्म कोही कहिल्यै देशभक्त हुन पनि सक्दैनन् । तर, लेनिनवादी दर्शन नबुझेका जनताले प्रचण्डहरूलाई देशभक्त ठाने, उनीहरूको देशभक्ति एउटा मिथ्या मात्र भएको अहिले प्रमाणित भइसकेको छ ।

(घ) प्रचण्डले भारतको राजधानी नयाँदिल्लीमा लोकतन्त्रपक्षीय सात राजनीतिक दलसँग सम्झौता गर्दा निरङ्कुश राजतन्त्रको अन्त्य गर्ने प्रतिबद्धता दर्शाएका थिए । तर, आफ्नो हात माथि पर्नेबित्तिकै उनले राजतन्त्रकै अन्त्य गरिनुपर्ने अड्डी लिइदिए । मुलुकमा संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्र चाहने जनता र राजनीतिक दलहरूमाथि उनको यो अर्को धोखाधडी थियो । राजसंस्थाको नाममा देशलाई अवरुद्ध तुल्याइनुभन्दा माओवादीलाई मूल प्रवाहमा सामेल गर्नु राजनीतिक दलहरूले उपयुक्त ठाने र गणतन्त्र घोषणा गर्न सहमत भए । तर, गणतन्त्र स्थापनापछि पनि प्रचण्ड साम्य भएनन्, उनले कुनै न कुनै बखडा झिकेर देश, जनता र लोकतन्त्र पक्षधर शक्तिहरूलाई सताइरहे, अझै सताउँदै छन् ।

(ङ) मुलुकमा निरङ्कुश राजतन्त्रको अन्त्यका लागि सुरु भएको अन्तिम सङ्घर्षमा एकपटक साथ दिनका लागि प्रचण्डले ०६२ सालमा लिखित वक्तव्यमार्फत गरेको आग्रह दस्तावेजका रूपमा अहिले पनि सुरक्षित छ । प्रजातन्त्रका लागि अन्तिम सङ्घर्ष नै होला भन्ने ठानेर नेपाली जनताले अभूतपूर्व साथ दिए । एकपटकका लागि केही दिन कष्ट सहिदिन प्रचण्डले गरेको आग्रहमा नेपाली जनताले विश्वास गरेका थिए, तर त्यो कष्ट अहिले सात वर्ष बित्दा झन् गहिरिँदै गएको छ । यसबाट उनले सत्य बोलेका थिएनन् भन्ने स्पष्ट गरेको छ ।

(च) जनताले धर्मनिरपेक्षता, सङ्घीयता र जातीयताका लागि कहिल्यै आवाज उठाएका थिएनन्, जनताले सोच्नसम्म पनि नसोचेका विषय अघिसारेर प्रचण्डले मुलुकमा थप सङ्कट निम्त्याएका छन् ।

(छ) ०६२÷६३ को शान्तिपूर्ण जनआन्दोलनमा जनता सरिक भइरहँदा प्रचण्डले राजनीतिक परिवर्तनपश्चात् आफू, बाबुराम भट्टराई र पार्टीका खासखास नेताहरूले राज्यको कुनै सार्वजनिक पद धारण नगर्ने भनी बीबीसी रेडियोमार्फत घोषणा गरेका थिए । जनताले प्रचण्डको त्यस्तो घोषणालाई सकारात्मक रूपमा ग्रहण गर्दै उनीहरूमाथि विश्वास गर्न सकिने ठानेका थिए । तर, ०६३ पछि प्रचण्ड सत्ता र पदबिना बाँच्नै नसक्ने प्राणीका रूपमा स्थापित भएका छन् । पदका लागि जेसुकै गर्न पनि तत्पर रहने व्यक्तिका रूपमा प्रचण्डको छवि बनेको छ । यसबाट प्रचण्ड कतिसम्म झुटा छन् भन्ने छर्लङ्ग बनाएको छ ।

(ज) संविधानसभामार्फत संविधान निर्माण गर्नु आफ्नो एकमात्र अभीष्ट भएको प्रचण्डले बताउने गरेका थिए । आखिर प्रचण्डको अभीष्ट त्यही नै हो भने किन अर्घेल्याइँ गर्नु भनेर नेपाली काङ्ग्रेससहितका प्रजातन्त्र पक्षधर दलहरू संविधानसभामार्फत संविधान निर्माण गर्न सहमत भएका हुन् । तर, संविधानसभाको गठन भएपछि उनी संविधान निर्माणप्रति कहिल्यै इमानदार भएनन् । कहिले लडाकु त कहिले केको निहुँमा अत्तो थाप्दै आखिर संविधानसभा आफ्नो कर्तव्य पूरा नगरी मर्नुपर्ने अवस्थामा उनले पुर्‍याए । प्रचण्डहरूको निम्ति संविधानसभा अभीष्ट थिएन, सत्ता हत्याउने एउटा चालबाजी मात्र थियो भन्ने अब प्रमाणित भइसकेको छ ।

(झ) ०६३ को परिवर्तनपश्चात संविधान निर्माण नभएसम्म सात दल र माओवादीबीचको एकता कायम राख्ने र गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गठित सहमतिको सरकार पनि यथावत् राखिने लिखित वचन प्रचण्डले दिएका थिए । तर, संविधानसभाको निर्वाचनपश्चात् ठूलो दलको हैसियतमा आफैंले सरकारको नेतृत्व गर्न पाउनुपर्ने अड्डी लिएर प्रचण्डले गिरिजाप्रसादलाई एक रात पनि राम्ररी सुत्न दिएनन् । आखिर कोइरालालाई हटाएर प्रचण्ड बहुमतीय सरकारकै भए पनि प्रधानमन्त्री भइछाडे । त्यसै घटनादेखि नेपालमा राजनीतिक सहमतिको वातावरण अन्त्य भएको हो ।

(ञ) ०६५ साल जेठ १५ गते संविधानसभाबाट गणतन्त्र घोषणा हुनुअघि र पछिसम्म पनि प्रचण्डले गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउने वचन दिएका थिए । तर, आफू केही बलियो भएको अनुभूति गरेपछि प्रचण्डले गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बन्न दिएनन् बरु राष्ट्रपति बन्न नदिनका लागि जेसुकै गर्न पनि तयार भए । बिचरा गिरिजाप्रसादले त्यसबेला प्रचण्डको भुलभुलैयामा परेर आफू दलविशेषको मात्र नेता नभएको सार्वजनिक घोषणा गर्दै संविधानसभाको निर्वाचनमा काङ्ग्रेसको प्रचारमा नजाने निर्णय सुनाएका थिए । राष्ट्रपति बन्न उनले गरेको त्यस्तो अभ्यास गलत थिएन । त्यसताक लोकप्रिय रहेका गिरिजाप्रसाद काङ्ग्रेसको प्रचारमा नजाँदा पार्टीले ठूलो क्षति व्यहोर्नुपरेको तथ्य आमजानकारीको विषय हो । प्रचण्डको विश्वासमा नपरेका भए गिरिजाप्रसाद कोइराला न गणतन्त्र घोषणाका लागि तयार हुन्थे न काङ्ग्रेसको प्रचारमा जानबाट नै रोकिन्थे । प्रचण्डले कोइरालालाई दिएको यो धोखा इतिहास स्मरणीय छ ।

(ट) युद्धकालमा आफ्नो पाँचदेखि सात हजार मात्र लडाकु रहेको तथ्य प्रचण्डले शक्तिखोर भिडियोमा खुलस्त गरेका छन् । कमजोर राज्यसत्ता र प्रजातन्त्रवादीहरूको सोझोपनको लाभ उठाउँदै उनले ०६३ पछि लडाकुको सङ्ख्या बढाएर तेत्तीस हजार पुर्‍याए । करिब बीस हजारलाई त अनमिनमार्फत प्रमाणित नै गराएर राज्यबाट तलबभत्ता खाने व्यवस्था मिलाए । बीस हजारमध्ये पनि कम्तीमा चार हजार लडाकु जो क्यान्टोनमेन्टमा छँदै थिएनन् तिनको नाममा समेत तलबभत्ता आफैंले बुझेर राज्यको ढुकुटीमा ब्रह्मलुट गरे । जनताले तिरेको करमा अर्बौं रुपैयाँको नोक्सानी पुर्‍याउँदा पनि प्रचण्डमा ग्लानिभाव देखिएको छैन । यसबाट उनी कुन दर्जाका मनुवा रहेछन् भन्ने पुष्टि भएको छ ।

(ठ) प्रधानमन्त्री बनिसकेपछि कसैमाथि कुनै पूर्वाग्रह नराखी राज्य सञ्चालन गर्ने कसम खाएका प्रचण्डले नेपाली सेनालाई क्षतविक्षत बनाउने कोसिस गर्दै तात्कालिक प्रधानसेनापति रुक्मांगद कटवाललाई पदच्युत गर्ने प्रयास गरे । यस घटनाले प्रचण्ड प्रजातान्त्रिक अभ्यासमा होइन विधान, कानुन र राज्यसंयन्त्रलाई उपयोग गर्दै देशमा एकदलीय अधिनायकवादी शासनसत्ता स्थापित गर्न चाहन्छन् भन्ने स्पष्ट गरेको थियो । प्रचण्डको बोली र व्यवहारमा अन्तर रहेको अर्को एउटा दृष्टान्तका रूपमा यस घटनालाई लिइन्छ ।

(ड) प्रधानमन्त्री भइसकेपछि शक्तिखोर पुगेर प्रचण्डले एक सभा गरी माओवादी लडाकु राज्यको मातहत आएको घोषणा गरेका थिए । तर, लडाकुलाई राज्यको अधीनस्थ गर्न त्यसपछिको चार वर्ष लाग्यो, अझै पनि विश्वस्त हुन सकिने स्थिति छैन ।

उपसंहारः शान्ति र संविधानलाई मूल गन्तव्य बनाएको भन्दै विद्रोह र सत्ताकब्जा गर्ने प्रचण्ड तयारीलाई प्रजातन्त्रपक्षीय शक्तिहरूले बुझ्न नसक्दा आज मुलुकको यो दुर्गति भएको छ । मुलुकको जिम्मेवार भूमिकामा रहनुपर्ने प्रमुख नेता प्रचण्ड पेटमा एउटा कुरा, मनमा अर्कै कुरा, घाँटीमा अर्को र जिब्रोमा अझै अर्को कुरा राख्ने, अनि व्यक्त अर्कै कुरा र व्यवहार अर्कै गर्ने भएपछि मुलुकले सास्ती पाउनु स्वाभाविक हो । बिहान ब्युँझँदा एउटा कुरा, स्नान गरेपछि अर्को, खाना खाएपछि एउटा र खाजा खाएपछि अर्कै, बेलुका मदिराको मदमा एउटा र सुत्ने बेलामा अर्कै कुरा गर्ने प्रचण्डले विगत सात वर्षका बीचमा तेह्र सयभन्दा बढी झुट बोलेको दस्तावेजहरूले पुष्टि गर्दछ । यस अवधिमा भएका करिब साढे पाँच सयभन्दा बढी विभिन्न बुँदे सम्झौताको कार्यान्वयन नहुनुमा पनि प्रचण्डको भूमिका नै जिम्मेवार रहेको मानिन्छ ।

देशलाई अन्योलको भूमरीमा होमिसकेपछि प्रचण्ड अहिले जातीय आधारमा मुलुक विखण्डन गर्ने कसरतमा छन् । चौबीस वर्षदेखि आफ्नै पार्टीको समेत महाधिवेशन नगराई पार्टीको सत्ता कब्जा गरेर बसिरहने प्रचण्डबाट मुलुकमा लोकतन्त्रको विकास हुन्छ भनी सोच्नु नेपाली जनताको सबैभन्दा ठूलो भूल हो ।

प्रचण्ड न आफू सुध्रिन तयार छन् न अरूमा उनलाई सुधार्ने सामथ्र्य देखिएको छ । जब कि प्रचण्ड नसुध्रिएसम्म न यस मुलुकको राजनीति सुध्रने अवस्था छ न मुलुकको सुधार र उद्धार हुने स्थिति छ । नेपाली राजनीतिमा प्रचण्डको क्रियाशीलता कायम रहेसम्म नेपालले तीनवटा कुरा (शान्ति, स्थिरता र समृद्धि) प्राप्त नगर्ने अब निश्चित भइसकेको छ । देशले शान्ति, स्थिरता र समृद्धि प्राप्त गर्न प्रचण्डको भूमिका न्यून हुन आवश्यक छ, तर कसले गराउने उनको भूमिका न्यून ? गम्भीर र अत्यासलाग्दो प्रश्न नेपाली जनताका अघिल्तिर उभिएको छ ।

बुद्धि, चातुर्य र प्रतिभाका दृष्टिले प्रचण्ड अब्बल छन्, चातुर्यमा उनीसँग प्रतिस्पर्धा गर्न सक्ने अर्का कुनै नेता समकालीन राजनीतिमा देखिएका पनि छैनन् । तर, मानिसले आफ्नो क्षमता कुन अभीष्टका लागि कसरी प्रयोग गर्छ भन्ने प्रश्न मुख्य हो । कृष्ण र शकुनी दुवैको बुद्धि बराबरी जस्तै हो, शकुनीको दिमाग उल्टो चल्थ्यो अर्थात् नकारात्मकताबाट प्रेरित थियो, कृष्णको सकारात्मक । शकुनीले बदला र ईष्र्याको भावनाबाट प्रेरित रहँदै आफ्नो दिमाग विध्वंशात्मक तथा गैरन्यायिक कार्यका लागि प्रयोग गरे । कृष्णले सत्य र न्यायका लागि रचनात्मक र सकारात्मक रूपमा आफ्नो दिमागको उपयोग गरे । चातुर्यमा अब्बल भए पनि क्षमताको दुरुपयोग गरेका कारण शकुनीलाई दानवी प्रवृत्तिको षड्यन्त्रकारीका रूपमा चिनिन्छ, कृष्ण भागवान्का रूपमा पुजित छन् । प्रचण्डले आफ्नो दिमागी शक्तिको प्रयोग देश, समाज, शान्ति, अहिंसा, सिर्जना, समृद्धि, न्याय र सत्यको पक्षमा भन्दा आफ्नै हितकेन्द्रलाई सुदृढ पार्नमा गरेका छन् । मानवमानवबीच हिंसा र वैरभाव प्रकट गराउने उनको भूमिकाले निरन्तरता पाइरह्यो भने प्रचण्ड र शकुनीबीचको अन्तर मानिसले भेट्ने छैनन् । (108) 

साभार: घटना र बिचार साप्ताहिक

No comments:

Post a Comment