Jul 4, 2012

जनताले राजस‍ंस्थाको भूमिका खोजेको छः पूर्व राजा


शेरबहादुर केसी

भैरहवा, असार १९- पूर्व राजा ज्ञानेन्द्र शाहले राजसंस्था अन्त्यको चार वर्षमा कुनै उपलब्धि पाउन नसक्दा जनताले अहिले राजसंस्थाको भूमिका खोजेको बताएका छन्। 'जनताले अहिले हाम्रो भूमिका केही न केही खोजेका छन्, धैर्य गरौं केही समयमै हाम्रो भूमिका बारे जनताले नै भन्नेछन्' -उनले भने।

उनले आफूले नारायणहिटी छाड्दा भन्दा अहिले मुलुक गम्भीर र अप्ठेरो अवस्थामा पुगेको भन्दै उनले मुलुकलाई अप्ठेरो अवस्थाबाट नयाँ शक्तिको उदयबाट मात्रै जोगाउन संभव भएको बताए। नयाँ शक्तिको उदय हुनुपर्छ, त्यो भनेको परम्परागत राजसंस्था पनि हुनसक्छ, अरु कोही पनि हुनसक्छ -उनले भने।

पाँच दिने लुम्विनी भ्रमणका क्रममा नवलपरासी, कपिलवस्तु र रुपन्देहीको धार्मिक भ्रमणमा आएका पूर्व राजा ज्ञानेन्द्रले मंगलबार साँझ भैरहवाको निर्वाण होटलमा निकै खुलस्त हुँदै पत्रकारसँग कुराकानी गरे। आइतबार यहाँ आएका पूर्वराजा बिहीवार काठमाडौँ फर्कने कार्यक्रम छ।

नेताहरु विदेशीको इशारामा चल्दा अहिले मुलुकमा भयावह समस्या आएको उनको भनाई छ। नेताहरु स्वचालित नभएर परिचालित भएजस्तो लाग्छ-उनले भने।

मुलुकको बिग्रदो अवस्थामा राजनीतिमा फर्कने सोच बनाउनु भएको हो भन्ने प्रश्नमा उनले भने, ‘म राम्रो राजनीतिज्ञ हुनसक्तिन, राजाकै रुपमा ठीक छु।

मुलुक अहिले एकतामा बाधिन नसकेको भन्दै गंभीर भएका पूर्व राजाले देशलाई कुनै हालतमा टुक्राटुक्रा पार्न नहुने बताए। अहिले विविधताले भरिएको सुन्दर मुलुकमा जात जातिको कुरा आएको भन्दै उनले असन्तुष्टि जनाए। नेपाली नेपाली फुट्यौ भने र नेपाली नेपालीलाई फुटाउने खेल भयो भने यसले सिंगो नेपालको राष्ट्रिय संरचनालाई रक्षा गर्दैन उनले भने।

साभार नागरिक दैनिक

No comments:

Post a Comment