Jul 4, 2012

'नयाँशक्तिबाट मात्र मुलुक जोगिन्छ’


भैरहवा, असार १९ - पूर्वराजा ज्ञानेन्द्र शाहले आफूले नारायहिटी छाड्दाभन्दा अहिले मुलुक गम्भीर र अप्ठ्यारो अवस्थामा पुगेको दाबी गर्दै मुलुकलाई अप्ठ्यारो अवस्थाबाट जोगाउन नयाँ शक्तिको उदयबाट मात्रै सम्भव हुने बताएका छन् ।

'
नयाँ शक्तिको उदय हुनुपर्छ, त्यो भनेको परम्परागत राजसंस्था पनि हुनसक्छ, अरू कोही पनि हुन सक्छ,' उनले मंगलबार यहाँ पत्रकार सम्मेलन गरी भने ।

उनले राजसंस्था अन्त्यको चार वर्षमा पनि कुनै उपलब्धि पाउन नसक्दा जनताले राजसंस्थाको भूमिका खोजेको समेत धारणा राखे । 'जनताले अहिले हाम्रो भूमिका केही न केही खोजेका छन्,' उनले भने, 'धैर्य गरौं, केही समयमै हाम्रो भूमिकाबारे जनताले नै भन्ने छन् ।' पूर्वराजसंस्थाको भूमिका कस्तो हुने भन्ने पनि जनताले नै तय गर्ने उनले बताए ।

राजनीतिमा सक्रिया हुन खोजेको हो भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले आफूलाई राजनीतिबारे त्यति ज्ञान नभएको र राजाकै रूपमा ठीक रहेको बताए । 'राजाकै रूपमा ठीक छु,' उनले भने ।

नेताहरू विदेशीको इसारामा चल्दा अहिले मुलुकमा भयावह समस्या आएको उनले आरोप लगाए । 'नेताहरू स्वचालित नभएर परिचालित भएजस्तो लाग्छ,' उनले भने ।

उनले मुलुक एकतामा बाँधिन नसकेको उल्लेख गर्दै भने, देशलाई कुनै हालतमा टुक्रा-टुक्रा पार्न हुँदैन । नेपाली-नेपाली फुट्यौं भने र नेपाली-नेपालीलाई फुटाउने खेल भयो भने यसले सिंगो नेपालको राष्ट्रिय संरचनालाई रक्षा गर्दैन ।

साभार: कान्तिपुर दैनिक

No comments:

Post a Comment