Aug 13, 2012

नयाँ सन्दर्भ, पुराना प्रसङ्ग


ध्रुवहरि अधिकारी

परिशिष्टका पाता। नेपालचीन दौत्यसम्बन्ध स्थापना भएको ५७ वर्ष पूरा भएछ। विक्रम संवत २०१२ सालमा थालनी भएको आधुनिक चरणको यो सम्बन्ध ईस्वी संवत २०१२ मा आइपुगेको छ। यसबीच, श्रावण १७ गते (१ अगस्ट १९५५) लाई संझना गराउने कार्यक्रम यसपालि पनि काठमाडौंमा भएका छन्। द्विपक्षीय सम्बन्ध कायम हुँदाको पृष्ठभूमि इतिहास शिरोमणि बाबुराम आचार्यको (२०५९ सालमा प्रकाशित) पुस्तक 'चीन तिब्बत र नेपाल' मा लेखिएको छ। थप सान्दर्भिक प्रसङ्ग एम्.पी. कोइराला पुस्तकमा भेटिन्छन् जुन २०६५ साल कार्तिकमा प्रकाशित भएको थियो। वरिष्ठ अधिवक्ता गणेशराज शर्माको प्रयत्नमा छापिएको यो ग्रन्थ अंगे्रजीमा लेखिएको, मातृकाप्रसाद कोइरालाको आत्मकथा हो। यस पुस्तकको परिशिष्ट खण्डमा चिठीपत्रको संग्रह पाइन्छ। दिल्लीमा रहेका नेपालका राजदूत महेन्द्रविक्रम शाहले तत्कालीन प्रधानमन्त्री कोइरालालाई लेखेको केही चिठीले नेपालसित दौत्यसम्बन्धमा गाँसिन चीन पनि व्यग्र रहेको कुरा छर्लङ्ग पार्छन्। हो, भारतका प्रधानमन्त्री नेहरू भने चीननेपाल सम्बन्धबारे सुरुदेखि नै उत्साही थिएनन्।

जगजाहेर छ, करीब ६ दशकको यस कालखण्डमा चीनले लामै फड्को मारेर आफूलाई अमेरिकाको हाराहारीमा आउन सक्ने मुलुक तुल्याइसकेको छ। उसका कार्यनीति र प्राथमिकता क्षेत्रीय परिधिलाई छिचोलेर अन्तर्राष्ट्रि स्तरका भैसकेका छन्। सन् ७० दशकको आरम्भमा संयुक्त राष्ट्रसंघमा चीनलाई न्यायपूर्ण स्थान दिलाउनमा आवाज उठाउने देशहरूमध्येको एक सदस्यराष्ट्र नेपालले सन् ७०  दशककै अन्त्यबाट डङ् शियाओपिङले थालनी गराएको आर्थिक विकास अभियान देखेको हो। नेपाल आफैं भने यस आर्थिक मोर्चामा बेगले दौडिन र आफ्नै आकारका अन्य कतिपय देशको तुलनामा आउन सकेन। 'राजनीतिक स्थायित्व नै निर्णायक कारक हुँदो रहेछ'– चीनका वर्तमान राजदूत याङ हाउलान्ले गए साताको एउटा भेटघाटमा यस हरफको लेखकलाई उनकै देशको अनुभव सुनाएको स्वरशैलीमा मन्तव्य दिए। नेपालका राजनीतिक खेलाडीहरूको जालझेलप्रपञ्चले गर्दा यस देशले अहिले आफ्नै हितको रक्षा समेत गर्न सकिरहेको छैन। यस्तो अवस्थामा यहाँ गठन हुँदै आएका 'कामचलाउ' सरकारहरूले चीनको सुरक्षा चासोलाई समेत सम्बोधन गरिदेलान् भनेर आश्वस्त हुनु परिरहेको छ। राजदूत याङ र बेइजिङमा बस्ने उनका तालुकवाला हाकिमहरूले। भन्नु परोइन, यो 'आश गर्नु भर नपर्नु' स्थिति हो। आफैं कमजोर अवस्थामा भएको देशले अरु ककसको काममा सघाउन सक्ला?

सप्ताहान्तमा चीनबाट एउटा कूटनीतिक प्रतिनिधिमण्डल नेपाल आएको छ। उपपरराष्ट्रमन्त्री फु इङ् (महिला) ले सचिवस्तरीय वार्ता गर्न लागेको जानकारी सार्वजनिक भैसकेको छ। शनिबारको प्रारम्भिक भेटघाटपछि उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले नेपालचीन सम्बन्ध 'समस्यामुक्त' रहेको प्रतिक्रिया दिएको जानकारी छापाहरूमा आएको छ। आज (सोमबार) हुने औपचारिक वार्तापछि द्विपक्षीय सम्बन्ध कुन आधारमा विकसित हुने हुन् त्यसको सङ्केत आउन थाल्नेछ। 'चीनले नेपालमा भारतसित प्रतिस्पर्धा गर्दैन' भन्ने राजदूत याङका पूववर्तीको कथन कायम रहन्छ अथवा वैकल्पिक उपायको खोजी सुरु हुन्छ, पर्खेर हेर्ने विषय होअहिले। 

साभार : तरुण साप्ताहिक

No comments:

Post a Comment